
काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई पार्टी अध्यक्षमा मोहन वैद्य पनि मान्य भएको बताएका छन् ।
दाहाल निवास लाजिम्पाटमा मोहन वैद्यसँग दुई माओवादी समूहवीचको एकताबारे भएको छलफलमा दाहालले यस्तो बताएका हुन् । केही दिन यता दुबै माओवादी समूहका नेतावीच पार्टी एकताबारे सघन छलफल भइरहेको छ ।
फागुन १ गते जनयुद्ध दिवसको ऐतिहासिक दिन पारेर पार्टी एकताको तयारी गरिए पनि समयको अभावका कारण पार्टी एकता गर्न अझै केही साता लाग्न सक्ने नेताहरुले बताएका छन् ।
तर, फागुन १ मा संयुक्तरुपमा जनयुद्ध दिवस मनाउँदै कुनै न कुनै रुपमा एकताको सन्देश प्रवाह गर्ने तयारीमा नेताहरु जुटेको स्रोतले बतायो ।
एमाओवादीबाट दाहाल र कृष्णबहादुर महरा तथा वैद्य समूहका तर्फबाट मोहन वैद्य र रामबहादुर थापा बादलले एकताको गृहकार्य सुरु गरेका छन् ।






