सिड्नीमा २१३औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न

 

सिड्नी। नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान (एनकेएसएसपी) न्यू साउथ वेल्सको आयोजनामा २१३औँ भानु जयन्ती विशेष कार्यक्रमका बीच भव्य रूपमा सम्पन्न भएको छ। सिड्नीस्थित अर्बन टाउनहलमा आयोजित कार्यक्रममा नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।प्रतिष्ठानकी अध्यक्ष कल्याणी बर्तौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा प्रवासी नेपाली समुदायको महत्वपूर्ण भूमिका रहेको बताएकी थिइन्। आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको विकास र विस्तारमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनले यस्ता कार्यक्रमले नयाँ पुस्तामा नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको अपनत्व बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरेकी थिइन्।

कार्यक्रमका प्रमुख अतिथि पूर्व महावाणिज्यदूत दीपक खड्काले प्रवासमा नेपाली भाषा र संस्कृतिलाई जीवन्त राख्न विभिन्न संस्थाले गरिरहेका प्रयासको प्रशंसा गरेका थिए। उनले साहित्य, कला र संस्कृतिको संरक्षण वर्तमान पुस्ताको मात्र नभई भावी पुस्ताप्रतिको दायित्व पनि भएको बताएका थिए। अवसरमा नेपाली कला तथा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका दुई व्यक्तित्वलाई ‘भानु पुरस्कार–२०२६’ प्रदान गरिएको थियो। कला क्षेत्रबाट सञ्जीव बस्नेत तथा साहित्य क्षेत्रबाट सौरभ किरण श्रेष्ठ सम्मानित भएका थिए।

कार्यक्रममा तमु समाज अष्ट्रेलियाका अध्यक्ष हेउपति गुरुङले गुरुङ भाषामा कविता वाचन गरेका थिए। त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ओशिनियाका केन्द्रीय उपाध्यक्ष डा. प्रकाश पौडेलसहित विभिन्न साहित्यकार तथा साहित्यप्रेमीहरूले कविता वाचन गरेका थिए।कार्यक्रमको अर्को आकर्षण बालबालिकाहरूको सांस्कृतिक प्रस्तुति रहेको थियो। उनीहरूले नेपाली गीत, नृत्य तथा सांस्कृतिक झाँकीमार्फत नेपाली मौलिक संस्कृति प्रस्तुत गरेका थिए। साथै प्रतिष्ठानको सांस्कृतिक समूहले प्रस्तुत गरेको नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष नन्द गुरुङ, प्रतिष्ठानकी संरक्षक तथा पूर्व अध्यक्ष सुजाता बस्नेत, डा. मधु पुडासैनी, विष्णु हमाल, डा. प्रवीण पाठक, एलेक्स कार्की, अष्ट्रेलियन नेपाली जर्नालिस्ट एसोसिएसन (एन्जा) का अध्यक्ष कृष्ण तिवारी, एन्जाका सल्लाहकार डा. राजु मानन्धर, रुपन्देही समाज अष्ट्रेलियाकी अध्यक्ष रञ्जिता अधिकारी, शब्दमालाका पूर्व अध्यक्ष विष्णु घिमिरे, नै प्रकाशनकी अध्यक्ष सीमा रोशी, सामाजिक अभियन्ता जानकी रिमाल लगायत विभिन्न सामाजिक, साहित्यिक तथा सामुदायिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।आयोजकका अनुसार कार्यक्रमले आदिकवि भानुभक्त आचार्यप्रति सम्मान व्यक्त गर्नुका साथै प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप ऊर्जा प्रदान गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *