सिड्नी, जुन १४ । विश्व रक्तदाता दिवसको अवसर पारेर “मानवताका एक थोपा, रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने नारासहित सिड्नीस्थित टाउनहल ब्लड सेन्टरमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाली ब्लड डोनर्स एसोसिएसन (एनबीडीए) अष्ट्रेलियाको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो।
एनबीडीए अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको सञ्चालन एनबीडीए अष्ट्रेलियाका सचिव प्रसन्न दाहालले गरेका थिए भने कार्यक्रम संयोजक रास्ना पालाञ्चोकेले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी दिएकी थिइन्। कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए। जसमध्ये तीन जनाले प्लाज्मा तथा १० जनाले होल ब्लड दान गरेका थिए। प्लाज्मा दान गर्नेहरूमा शंकर शर्मा ज्ञवाली, प्रसन्न दाहाल र सञ्जन उप्रेती रहेका थिए भने जमुना रोक्का, सविना बस्याल, राज लोहाला, दिया अब्राहम, भुषण डंगोल, भावना पराजुली, सञ्जय श्रेष्ठ, जागृत बन्जाडे, केड्जी डिमाकुलाङ्गन र ब्राहम पाण्डेले होल ब्लड दान गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. ज्ञानेन्द्र रेग्मीले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा महत्वपूर्ण र पुण्य कार्यमध्ये एक भएको बताएका थिए। उनले रक्तदानको क्षेत्रमा एनबीडीएले गरिरहेको योगदानको प्रशंसा गर्दै विभिन्न संघसंस्थाहरूले पनि यस्ता मानवीय अभियानमा सहकार्य र समन्वय गर्नुपर्ने धारणा राखेका थिए। यस्ता अभियानमा आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए।
अध्यक्ष मुक्तिराम पोखरेलले रक्तदान कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै अष्ट्रेलियामा हुने रगतको अभाव न्यूनीकरण गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिएका थिए। उनले इच्छुक व्यक्तिहरूलाई आफू नजिकको ब्लड सेन्टरमा पुगेर नियमित रूपमा रक्तदान गर्न आग्रह गरेका थिए।कार्यक्रममा एनबीडीए अष्ट्रेलियाका संरक्षक विनोद मैनाली, सल्लाहकार सूर्य गौतम तथा रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाकी अध्यक्ष एवं एनबीडीएका संरक्षक रञ्जिता भण्डारी लगायतका वक्ताहरूले रक्तदान जस्तो मानवीय कार्यको प्रशंसा गर्दै समुदायमा यस्ता अभियानलाई थप विस्तार गर्नुपर्ने बताएका थिए। वक्ताहरूले एउटै उद्देश्य बोकेका सामाजिक संघसंस्थाहरूबीच सहकार्य र समन्वय बढाउँदै मानवहितका कार्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
विश्वका ३० भन्दा बढी देशमा नेपाली ब्लड डोनर्स एसोसिएसन सक्रिय रहेको जनाउँदै आयोजकले “रक्तदान जीवनदान” को भावनालाई आत्मसात् गर्दै मानव सेवामा समर्पित अभियानलाई निरन्तरता दिँदै आएको जानकारी दिएको थियो।कार्यक्रममा स्वयंसेवी रक्तदाता, आयोजक संस्थाका पदाधिकारी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा नेपाली समुदायका सदस्यहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।






