लन्डन ।लण्डन स्थित नेपाली दुताबासमा नेपालका अटिजम पीडितहरुको सहयोगार्थ एक च्यारिटी कार्यक्रम सम्पन्न भएको छ।
वुमन एसोसिएसन यूकेले नेपालमा रहेको अटिजम केयर नेपाल सोसाइटीको कार्यलाई सहयोग गर्न सुक्रबार सांझ दुताबासमा एक बिहद कार्यक्रम आयोजना गरेको हो ।
नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठले आयोजना गरेको उक्त कार्यक्रममा आर्थिक संकलनसंगै नेपालमा अटिजम अवस्थाबारे चर्चा गरियो ।
कार्यक्रममा अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष अध्यक्ष डा. सुनिता मलेकु अमात्य तथा डा कपिन्द्र शेखर अमात्यको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एसोसिएसनकी संरक्षक एवम् बेलायतका लागि नेपाली कार्यवाहक राजदुतकी धर्मपत्नी माया भुषालले कार्यक्रमलाई सम्बोधन गर्दै उपस्थित नेपालमा अटिजमबारे थप जनचेतनामा जोड दिइन् । उनले अटिस्टिक व्यक्तिहरुलाई घरपरिवार र समाजबाट उचित रेखदेख र माया आवश्यक रहेको औंल्याउंदै एसोसिएसनले यस क्षेत्रमा निरन्तर गरिरहेको च्यारिटी प्रशंसनीय भएको बताइन् ।

कार्यक्रममा सहभागी अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा. सुनिता मलेकु अमात्यले अटिस्टिक बालबालिकाका लागि संस्थाले गरिरहेको कामबारे जानकारी दिएकी थिइन् ।अटिजममा काम गर्ने पहिलो नेपाली संस्थाका रुपमा सन् २००८ मा सोसाइटी स्थापना भएको जनाउंदै अमात्यले संस्थाको उद्देश्य अटिजम भएका व्यक्ति, तिनका अभिभावक तथा परिवारलाई सहयोग गरि गुणस्तरिय जीवन प्रदान गर्नु रहेको बताइन् ।

बेलायतका लागि नेपाली कार्यबाहक राजदूत बिपिन दुवाडीले अटिजम बालबालिकाको सहयोगार्थ च्यारिटी आयोजना गर्ने नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठ लगायतको समितिलाई धन्यवाद दिंदै नेपालमा अटिजम भएका बालबालिकाको सहयोगका लागि एसोसिएसनले गरेको कार्य सराहनीय भएको बताए । दुवाडीले नेपाल सरकारले सातै प्रदेशमा ‘अटिजम स्कुल’ सञ्चालन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै यसका लागि बेलायत सरकारले समेत सहयोगको प्रतिवद्धता जनाएको बताए । उनले अटिजम पीडितहरुलाई घर र समाजबाट तिरस्कारको सट्टा सम्मान तथा हेरविचार आवश्यक रहेकोमा पनि जोड दिए ।



नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठले नेपालमा अटिजम पीडितहरुको अवस्था र यस क्षेत्रमा भएका पहलबारे चर्चा गरिन् । उनले अटिजम रोगबारे समेत जानकारी दिदै श्रेष्ठले अटिजम केयर नेपाल सोसाइटीमार्फत अटिस्टिक बालबालिकालाई आर्थिक सहयोग गरिने जनाउंदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने नेपाली दूतावास परिवार, चन्दादाता एवं सहयोगी सबैप्रति आभार व्यक्त गरिन् ।अध्यक्ष श्रेष्ठले यसअघि पनि एसोसिएसनले नेपालका अटिस्टिक बालबालिकालाई आर्थिक सहयोग
गर्दै आएको स्मरण गरिन् ।
अटिजम केयर नेपाल सोसाइटीकी अन्तर्राष्ट्रिय सल्लाहकार लिन बबिङटनले संचलन गरेको उक्त कार्यक्रममा दूतावासका सैनिक सहचारी रथी अनुप साह,ब्रिटेन-नेपाल सोसाइटीका अध्यक्ष निक हिन्टन, ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) अध्यक्ष बिराज भट्ट,एनआरएन यूके प्रमुख संरक्षक डेभिड गुरुङ,एनआरएनए युकेकी पूर्व अध्यक्ष पुनम गुरुङ,नर्सिङ एसोसिएसन यूकेकी पूर्व अध्यक्ष प्रसुना कँडेल,यतीका पूर्व अध्यक्ष ध्रुव केसी,सोलिसिटर राजु थापा, क्याप्टेन आरएस श्रेष्ठ तमुधि युके पूर्व अध्यक्ष हरी गुरुङ,साहित्यकार कबि कोमल मल्ल ,हाउन्स्लोको फेल्थाम नर्थ वार्डका काउन्सिलर महम्मद शकील अकरम लगायतको उपस्थिति थियो।


अटिजममा बाहिरबाट हेर्दा कुनै रोग देखिंदैन । सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसंग कुरा गर्न गारहो हुने, आंखा नजुधाउने, एक्लोपन रुचाउने,अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने तथा एउटै कुरा दोहोरयाउने आदि हुन्छ।इन्द्रियहरूको उतारचढावका कारण अटिजम भएका बालबालिकाले वातावरण, व्यक्ति र वस्तुप्रति अलग किसिमको प्रतिक्रिया देखाउंछन् ।

यदि तपाईं यस कार्यक्रमको सफलताका लागि योगदान गर्न चाहनुहुन्छ भने, कृपया तल दिइएको बैंक विवरण हेर्नुहोस्।
बैंक विवरण – इलिङ काठमाडौँ फ्रेन्डशिप एसोसिएसन,
NatWest सर्ट कोड 60-07-10
खाता नम्बर 35163933 (कृपया रेफरेन्समा आफ्नो नाम उल्लेख गर्नुहोस्)
सम्पर्क:
आरती श्रेष्ठ – arati.shrestha@live.co.uk, 07901863767
वा
लिन बाबिङ्टन – induna@rocketmail.com, 07876213969






