भारत सामु यसरी लम्पसार पर्दैछ सरकार

mainphotoकाठमाडौं २२ असाेज ।  बुधबार भारतीय राजदूत रणजित राय आफैले नेपालमा हवाईमार्गमार्फत् इन्धन ल्याउन सुझाव दिए। वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापासँगको भेटमा उनले एयरलिफ्ट गरेर तेल ल्याउन सुझाव दिएको भोलिपल्ट(बिहीबार) नेपाल वायु सेवा निगम (एनएसी) ले हवाई इन्धन एयरलिफ्ट गरेर ल्यायो। एनओसीले ६६ टन (६६ हजार लिटर) हवाई इन्धन ल्याउने निर्णय नेपालको लागि आत्मघाती कदम मात्रै थिएन भारतले नाकाबन्दी नलगाएको स्पस्ट प्रमाण समेत थियो। भारतीय राजदूतले कुटनीतिक माध्यमबाट नेपाललाई नाकाबन्दी नलगाएको व्यवहारिक रुपमै देखाउने चाहन्थे। यही भारतीय चाहनालाई राष्ट्रिय ध्वजाबाहक एनएसीले तेल ल्याएर पूरा गरिदिएको छ। अर्कोतर्फ आयल निगमले पनि भारतलाई सहयोग गर्दै रसियन जहाजमार्फत त्यहीँबाट तेल ल्याउने अनौपचारिक निर्णय गर्‍यो। भारतले नाकाबन्दी लगाएपछि पेट्रोलियम पदार्थको चरम अभाव छ।

यो चरम अभावका कारण सवारी साधन ठप्प प्राय छन् र औद्योगिक र सेवा क्षेत्र बन्द भइसकेका छन्। तर भारतले पटक/पटक नेपालमा कुनैपनि नाकाबन्दी नलगाएको बरु नेपालतर्फको सीमा भएको आन्दोलनले ढुवानी गर्न नसकेको बताउँदै आएको छ। भारत सीमामा भएको आन्दोलन देखाएर नाकाबन्दीलाई बैधानिक बनाउन चाहिरहेको थियो। ‘भारतले सीमा क्षेत्रमा आन्दोलनका कारण ढुवानी गर्न नसकेको बताउँदै आएको थियो। तर नेपालले कुनै समस्या नरहेको बताउँदै आएको थियो,’ एक उच्च सरकारी अधिकारी भन्छन्, ‘भारतले यही बेलामा कुटनीतिक भूमिका खेलेर एयरलिफ्ट गरेर भारतबाटै तेल ल्याउन आग्रह गर्‍यो। यो निर्णयलाई हाम्रा मन्त्रीहरुले सहर्ष स्वीकार गर्दा नेपाल फेरि झुक्यो।’ ती अधिकारीका अनुसार नेपालले एयरलिफ्ट गरेरै ल्याउनुपर्ने अवस्थामा अन्य मुलुकबाट तेल ल्याउनुपर्थ्यो। ’भारत वाहेकका मुलुकबाट तेल ल्याउन सकेको भए अन्तर्राष्ट्रिय जगतमा नाकाबन्दी भएको औपचारिक जानकारी समेत गराउन सकिन्थ्यो,’ ती अधिकारीले भने, ‘सरकारले अन्य मुलुकबाट एयरलिफ्ट गरेर तेल ल्याउने निर्णय गरेको भए परिस्थिति अर्कै हुन्थ्यो र हामीले अन्तर्राष्ट्रिय रुपमा अपिल गर्न सक्थ्यौं।’

आयल निगम उच्च स्रोतका अनुसार हवाई इन्धन वाहेकका पेट्रोलियम पदार्थपनि भारतबाटै ल्याउने तयारी भएको छ। ‘हामीले इन्डियन आयल कर्पोरेशन(आइओसी)बाट मात्रै तेल नल्याउने भनेका हौं। तर भारतकै अरु कम्पनीबाट एयरलिफ्ट गरेर तेल आउनेछ,’ निगम स्रोतले भन्यो, ‘हामीले गरेको ग्लोबल टेन्डरमा समेत अधिकांश भारतबाटै ल्याउने देखिएको छ।’ आइओसीले तेल दिन आनाकानी गरेपछि आयल निगमले अल्पकालिन र दीर्घकालिन रुपमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने निर्णय गरेको थियो। यो निर्णयपछि अल्पकालिन रुपमा एयरलिफ्ट गरेर तेल ल्याउने निर्णय गरेको थियो भने दीर्घकालिन रुपमा उत्तरी छिमेकी चीनबाट तेल ल्याउने निर्णय गरेको थियो। स्रोतका अनुसार भारतले बंगलादेशबाट तेल ल्याउन रोकेपछि भारतबाटै ल्याउने निर्णय भएको हो। तर बंगलादेशलाई औपचारिक रुपमा भने कुनै आग्रह गरिएको छैन।