महिलालाई पाँच प्रतिशत व्याजमा पाँच लाख कर्जा

काठमाडौं । सरकारले महिलामा उद्यमशिलता विकास गर्न सहुलियत व्याजमा ऋण दिने योजनालाई अघि बढाएको छ । प्रस्ताव भएर लामो समयदेखि थन्किएको यो योजनाले उद्योगमन्त्री महेश बस्नेत सक्रिय भएपछि मुर्तरुप लिन लागेको हो । महिला उद्यमीले सरकारसँग सहुलियत व्याजमा पाँच लाख रुपैयाँसम्म ऋण पाउनेछन् ।
व्याज छ प्रतिशत
सरकारले तीन वर्ष अघि महिला उद्यमशिलता योजना अघि बढाएको थियो । तर ऋण कसरी प्रवाह गर्ने भन्ने दुविधामा सरकारले यो योजना लागू भने गर्न सकिरहेको थिएन । बस्नेत मन्त्री भएपछि योजना लागू गर्न पहल गरे । त्यसको परिणाम ऋण सिमा बढाइएको छ भने व्याज घटाइएको छ ।
पहिले यस्तो ऋण एक लाखदेखि तीन लाख रुपैयाँसम्म बाँड्ने प्रस्ताव गरिएको थियो । बस्नेतको पहलमा यसलाई संसोधन गरेर एक लाखदेखि पाँच लाख रुपैयाँ पुर्याउन प्रस्ताव गरिएको शुक्रवार उद्योग मन्त्रालयले जारी प्रेस विज्ञप्तिमा छ ।
पहिले यस्तो ऋणको व्याज दश प्रतिशत हुने प्रस्ताव गरिएको थियो । त्यसलाई पनि संसोधन गरेर अहिले छ प्रतिशत पुर्याउन प्रस्ताव गरिएको उद्योग मन्त्रालयले जानकारी दिएको छ ।
नियमित तिरे अझ छुट
मन्त्रालयले साँवा र व्याज नियमित तिरे यस्तो कर्जाको व्याज अझ एक प्रतिशत घटाउने निर्णय गरेको छ । कर्जा भुक्तानी अवधि पनि संसोधन गरेर दुई वर्षको सट्टा तीन वर्ष पु¥याइएको छ । तीन वर्ष भित्र नियमित साँवा व्याज भुक्तानी गरे कर्जाको व्याज पाँच प्रतिशतमा झर्ने पनि उद्योग मन्त्रालयले जानकारी दिएको छ ।
ऋण राष्ट्रिय बाणिज्य बैंकबाट
उद्योग मन्त्रालय अन्र्तगतको घरेलु तथा साना उद्योग विभागले राष्ट्रिय बाणिज्य बैंकसँग मिलेर कर्जा वितरण गर्नेछ । कर्जा वितरण गर्न बनाइएको केन्द्रिय कोष सञ्चालन तथा व्यवस्थापन समितिले ऋण आव्हान गर्दै महिला उद्यमीसँग आवेदन माग्नेछ । 
राष्ट्रिय दैनिकमा ३० दिने सूचना प्रकाशन गरेपछि आउने मागका आधारमा ऋणी छनोट गर्ने योजना कोषको छ । सरकारले बजेट मार्फत छुट्टयाएको रकम मन्त्रालयले कोषलाई दिनेछ । कोष र राष्ट्रिय बाणिज्य बैंक मिलेर ऋण रकम प्रवाह गर्नेछन् । बैंकले नै साँवा र व्याज उठाउने गरी सहमति बनेको छ । 
पहिले दश जिल्लामा
मन्त्रालयले पाइलट परियोजनाका रुपमा यो योजना सुरुमा देशका दश जिल्लामा सञ्चालन गर्ने योजना बनाएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका महिलाले ऋण पाउनेछन् । त्यसैगरी मकवानपुर, बागलुङ, प्युठान, कालिकोट, बाजुरा, कैलाली र खोटाङ्गका महिलाले ऋण लिन पाउने उद्योग मन्त्रालयले जानकारी दिएको छ । 
यस पहिले पाँचथरलाई समावेश गरिएको भए पनि त्यहाँ राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय नभएपछि खोटाङ्ग थपिएको उद्योग मन्त्रालयले जानकारी दिएको छ । ऋण प्रवाह गर्न विभाग र केन्द्रिइ बैंकवीच मंसिर १९ गते सम्झौता भएको मन्त्रालयले जानकारी दिएको छ ।