काठमाडौं, २ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो सचिवालयका कर्मचारीलाई लिएर सपरिवार भारत प्रस्थान गरेपछि नेपालमा अनेक खाले टीका–टिप्पणी सुुरु हुन थालेको छ । छोरा पारस शाह स्वदेश फर्कनासाथ पूर्वराजा शाहको दलबलसहितको भारत भ्रमणलाई राजनीतिक वृत्तमा रहस्यमय रूपमा हेरिएको छ ।
समाचार स्रोतका अनुसार छोरा पारस चार वर्षको निर्वासनपछि स्वदेश फर्कनु र पूर्वराजा शाह दलबलसहित लामो बसाइँका लागि भारत प्रस्थान गर्नुलाई संयोग मात्रै मानिएको छैन । कतिपयले जसरी २००७ सालमा आफ्नो परिवारको एक सदस्य (तत्कालीन अधिराज ज्ञानेन्द्र) लाई छाडेर राजा त्रिभुवन भारत प्रस्थान गरेका थिए, त्यसरी नै लामो बसाइँका लागि भारत प्रस्थान गर्नुपर्ने भएकाले ज्ञानेन्द्रले छोरा पारसलाई स्वदेश झिकाएका हुन् भनी विश्लेषण गरेका छन् । ‘तर उनको विगतबाट अत्यन्त दुःखी पूर्वराजा ज्ञानेन्द्र आप्नै र उनको समेत सुरक्षाका कारण अहिले नै स्वीकार्ने पक्षमा छैनन्,’ समाचार स्रातले भन्यो ।
पूर्वयुवराज पारसलाई थाइल्यान्डबाट छुटाउन सहयोग पु-याएकी हिमानीसमेत उनीप्रति आश्वस्त बन्न नसकेकाले केही समय उनीहरू अलग–अलग नै रहने बुझिएको छ । तत्कालीन भारतीय शासकका कारण आफू पदच्यूत भएकाले भारतको सहयोगविना पुनर्बहाली हुन नसक्ने निचोडका साथ पूर्वराजा शाह लामो बसाइँका लागि शुक्रबारे साइतमा प्रस्थान गरेका हुन् । भारत प्रस्थान गर्नुअघि आफ्ना निकटस्थसँग पूर्वराजा शाहले तीन-चार महिना लामो बसाइँ हुने भए पनि बीचबीचमा आवत– जावत गरिरहने बताएका थिए । तर उनीहरूले आफू बस्ने अपार्टमेन्ट भने एक महिनाका लागि मत्रै बुक गरेको जनाइएको छ ।
नेपाल मामिलामा छलफल गर्न वैशाखको पहिलो साता आसामको गुहाटीमा भारतीय सत्तारुढ दल भाजपाको विशेष बैठक बस्दैछ । उक्त बैठकमा आफ्नो पक्षमा लबिङ बलियो बनाउन पूर्वराजा शाह भारत प्रस्थान गरेको समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार आफ्नो पक्षमा लबिङ पुग्यो र पुनर्बहाली हुने या संविधान नबन्ने अवस्था आयो भने उनी भारत प्रवास छोट्याएर नेपाल फर्कनेछन्, तर गणतन्त्र संस्थागत हुनेगरी नयाँ संविधान निर्माण हुने अवस्था आयो भने उनी स्थायी रूपमै भारत बस्ने कतिपयले दाबी गरेका छन् । ०६३ जेठ ४ गते राजगद्दी उत्तराधिकारीको व्यवस्था गर्ने नेपालका राजनीतिक दलहरूले कुनै शक्तिकेन्द्रको दबाबमा १० दिनपछि नै गणतन्त्रमा जाने निर्णय गरेको उनीहरूको आरोप छ ।
पूर्वराजा हात हल्लाउँदै फर्कने






