काठमाडौं, २ वैशाख । एमाले वरिष्ठ नेता माधव नेपाल यतिबेला देशव्यापी भ्रमणमा छन् । पार्टीको जिल्ला अधिवेशन र कार्यकर्ता भेलालगायतका कार्यक्रम बनाएर उनी देशव्यापी भ्रमणमा गएका हुन् । शनिबार आइतबार भोजपुर र संखुवासभाको कार्यक्रममा गएका नेपाल त्यताबाट फर्केपछि विदेश भ्रमणमा निस्कनेछन् । नेपाल निकट स्रोतका अनुसार उनलाई भारतीय संस्थापन पक्षले भारत भ्रमणको निम्तो दिइसकेको भए पनि कहिले जाने भन्ने मिति तय हुनसकेको छैन । पार्टीले दलीय वार्ता र छलफलमा उनलाई समावेश नगरेको पछिल्लो अवस्थामा उनी देशव्यापी कार्यकर्ता भेला र जिल्ला अधिवेशनमा सक्रिय रहेका थिए । यही बेला भारतीय सरकारले उनलाई निमन्त्रणा गरेको हो । भारत जानुअघि महोत्तरीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेकै बेला पार्टी मुख्यालयका हर्ताकर्ता मानिने महासचिव ईश्वर पोखरेलको ठाडो आदेशमा शनिबार जिल्ला अधिवशेन रोकिएको छ । ओखलढुंगा र खोटाङको अधिवेशनमा माधव नेपाललाई बोलाउने सम्भावना निकै कम छ । ओखलढुंगामा महासचिव पोखरेल आफैं जाने र खोटाङमा संस्थापन पक्षका कोही नेताहरू सहभागी गराउने योजना छ ।
नेता नेपाल स्वयंले भने संविधान निर्माणको प्रक्रिया तथा सरकार परिवर्तनको संकेत नभई उनी भारत नजाने निकटवर्ती स्रोतले जनाएको छ । भारतीय जनता पार्टीसँग माधव नेपालको सम्बन्ध त्यति राम्रो नभए पनि भारतीय कर्मचारी प्रशासनसँगको सम्बन्धले भारतीय जनता पार्टी र नरेन्द्र मोदीसँग उनको सम्बन्ध सुधार हुने बताइन्छ । पार्टीभित्र केपी ओलीलाई प्रधानमन्त्री बनाउने विषयमा एकमत जाहेर हुने भए पनि भारतीय पक्षले ओली सरकार प्रमुख भएको हेर्न चाहेको छैन । ओलीका पछिल्ला अभिव्यक्तिले भारत चिढिएपछि नेता नेपाललाई सरकार प्रमुख बनाएर अघि बढाउन सकिने रणनीतिमा लागेको स्रोतको दाबी छ ।
कांग्रेसभित्र पार्टी महाधिवेशन लागिसकेकाले भारतीय कर्मचारीहरूको ध्यान माधव नेपालतर्फ तानिएको हो । यतिबेला एमाले नेता नेपाल पनि मोदी सरकारसँग सम्बन्ध सुधार गर्न चाहन्छन् । जसले गर्दा अनुकूल समय मिलाएर भारत जाने उनी निकट स्रोतको दाबी छ । उनलाई भारतीय पक्षले निम्तो दिएलगत्तै संखुवासभामा नेता नेपालले वर्तमान सरकारमा विपक्षी दलहरूलाई पनि समेट्न सकिने र सहमतिमै संविधान निर्माण गर्न सकिने धारणा सार्वजनिक गरेका छन् । उनी पूर्वी नेपालको भ्रमणमा जानुअघि आफ्ना केही किचेन क्याबिनेटका नेताहरूसँग भारतीय पक्षले बोलाएको विषयमा सामान्य छलफल गरेका थिए । सुरेन्द्र पाण्डे, भीम रावल, युवराज ज्ञवाली, लालबाबु पण्डित, योगेश भट्टराईसँग सो विषयमा छलफल गरेका हुन् । बानेश्वरस्थित अर्याल होटललाई अघोषित रूपमा आफ्नो सम्पर्क कार्यालय बनाएका नेता नेपालले आफ्ना सहयोगीहरूलाई त्यहीँ भेटेर छलफल गरेको स्रोतले जनाएको छ । त्यहाँ नेपालपक्षीय कार्यकर्ताहरूको ठूलै जमघट हुने गर्छ । नेपाल पक्षीय विद्यार्थी तथा युवाहरूको भेला तथा गोप्य छलफल पनि यहीँ हुने गर्छ । महाधिवेशनताकै सो होटललाई छलफलको केन्द्र बनाइएको थियो ।
माधव नेपाललाई भारतको निम्तो






