प्रधानमन्त्रीको भारत भ्रमण : के बन्ला मुख्य एजेण्डा ?

काठमाडौं– एमालेका नेता एवम् नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा आर्थिक विषयमा विशेष कुराकानी हुने बताएका छन् ।

बुधबार काठमाडौमा भएको साक्षात्कारमा नेता भट्टराईले प्रधानमन्त्रीले भारत भ्रमणका बेला थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्ने बताए । उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हाम्रो प्रधानमन्त्रीले नेपालमा लगानी बढाउनेबारे थोरै विषयमा धेरै र महत्वपूर्ण उपलब्धि हाँसिल गर्नेगरि कुरा गर्नुहुन्छ ।’

भट्टराईले प्रधानमन्त्री ओलीको निकट भविष्यमा हुने भारत भ्रमणमा आपसी हितका विषयमा विशेष महत्वका साथ कुरा हुने विश्वास पनि दिलाए ।

उनले भने,‘वर्तमान सरकार छिमेकीसँग सम्वाद र सुमधुर सम्बन्ध बनाउन चाहान्छ, आजको अन्र्तराष्ट्रिय मूल्य र मान्यता अनुसार नै नेपालले आफ्ना सम्बन्धलाई बढावा दिन्छ, यही दृष्टान्तसहित हामी नेपाल–भारत र नेपाल–चीन सम्बन्धलाई अघि बढाउँछौं, समृद्धि हासिल गर्ने बाटोतर्फ अघि बढ्छांैं । प्रधानमन्त्रीको भारत भ्रमणसँग विगतमा भएका तितामिठा कुराहरुको अन्त्य हुनेपनि भटराइले बताए ।

‘अब हामी पारस्परिक हित र सम्मानका साथ अघि बढ्छौं, एक अर्काको जायज चासोलाई सम्बोधन गर्छौं, यही उचाईसहितको सम्बन्ध अघि बढाउन हामी पूर्ण प्रतिबद्ध छौं ।’
उनले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न अहिले आन्तरिक गृहकार्य समेत सुरु भैसकेको जनाए ।

उनले भने,‘सरकारले आवश्यक गृहकार्य थालिसकेको छ, भारतसँग हामीले खासगरेर पूर्वाधार विकासमा जोड दिएका छौं, यसैगरि हवाई, विद्युत, जलस्रोत, कृषिसम्बन्धी जोडिएका विषयमा पनि कुरा हुन्छ, भारतसँग हाम्रो बहु–आयामिक सम्बन्ध छ, त्यसैले थुप्रै विषयमा छलफल हुनेगरि अहिले नेपालमा भ्रमणको तयारी भैरहेको छ, प्रधानमन्त्रीको दृष्टिकोणपनि धेरै कुरामा हात हाल्नेभन्दापनि महत्वपूर्ण विषयामा मात्रै कुरा राख्ने रहेको छ, यो विषयबारे भारतीय पक्षलाई समेत जानकारी भैसकेको छ, बरु समयसिमाभित्रै आयोजनाहरु सम्पन्न गर्न विशेष केन्द्रित रहेर कुराकानी हुन्छ ।’
भारतीय लगानी नेपाल भित्र्याउने कुरा महत्वपूर्ण भएको भट्टराईको भनाई छ ।

नेता भट्टराईले चीन र भारतको आर्थिक विकासबाट नेपालले फाईदा लिनुपर्नेमा जोड दिए । ‘चिनीयाँ लगानी अहिले बेलायत, आईसल्याण्ड, फ्रान्स, जर्मनीमा पुगेको छ, हामीले नेपालमा किन नल्याउने ?’ उनले प्रश्न गरे । त्यस्तै उनले भारतीय लगानी मलेसिया, थाईल्याण्ड, भियतनाम लगायतका अन्य देशमा भैरहेकोले अब नेपालमा पनि बढोत्तरी गर्नुपर्नेमा जोड दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीबीच माथिल्लो तहमा छलफल भएर नै नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखिएका समस्याहरुलाई हल गर्न प्रवुद्ध व्यक्ति समूह (ईपिजी) गठन भएकोले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो विषयमा चर्चा हुनु स्वभाविक भएको तर्क उनले गरे ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा लगानीको विषयमा विशेष कुरा हुने विश्वास दिलाए । उनले भने,‘आजको दिनसम्म हेर्दा, नेपालमा भारत र चीनको बढि लगानी छ, अब पनि हामीले लगानीमा जोड दिनुको साथै लगानी कुन क्षेत्रमा कसरी ल्याउने भन्नेबारेमा नै विशेष महत्व दिनुपर्छ ।’

श्रेष्ठले नेपालमा समृद्धिको कुरा धेरै सुनिएपनि वर्तमान सरकारको नेतृत्वमा त्यो सम्भव हुने कुरामा आफू विश्वस्त रहेको सुनाए । उनले भने,‘सुशासन, आर्थिक समृद्धि, आर्थिक वृद्धिका कुराही हामीले सून्दै आएका कुरा हुन्, वाम गठबन्धनको नेतृत्वमा बनेको वर्तमान सरकार झण्ड दुई तिहाईले गठन भएको छ, प्रधानमन्त्री ओलीलै सानो, चुस्त र दुरुस्त मन्त्रिमण्डल गठन गर्नुभएको छ, अत्यन्तै सुझबुझका साथ विज्ञ र क्षमतावान व्यक्तिलाई मन्त्री बनाउनुभएको छ, उहाँले बलियो र अनुभवी टिम बनाउनुभएको छ, यो नै राम्रो संकेत हो ।’

पूर्वराजदुत एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा लगानीको विषयमा कुरा गर्नुपर्नेमा जोड दिए ।

कलकता र विसखापटन बन्दरगाहा निर्वाद रुपमा चल्नुपर्ने शर्माको भनाई थियो । उनले नेपाल आफ्नो प्राथमिकतामा चुक्न नहुने धारणा राखे । उनले भारतीय सामानहरु नेपाल दुई दिनभित्रै आउन सक्ने वातावरण बनाउनुपर्ने र नेपालका सामानहरु बढिभन्दा बढि भारत निर्यात गर्नतिर जोड दिनुपर्ने बताए ।