चैत्र ६ लाई प्रदर्शन मिति तोकेको चलचित्र ‘धुन’को रिलिजको मिति सरेको छ । प्रदर्शनको लागी तोकिएको दिन नजिकिँदै गर्दा चलचित्रको प्राविधिक काम नसकिएको र पब्लिसिटी पनि नपुग्ने अवस्था आएको भन्दै निर्माण युनिटले चलचित्रको रिलिज मिति सारेको हो । ‘हामी जुन तयारीका साथ लागिरहेका थियौँ, त्यो अनुसार सम्पादनको काम पनि नसकिने अवस्था आयो र पब्लिसिटी पनि सोचेअनुसार पुग्ने नदेखेर रिलिज मिति सार्ने निर्णयमा पुग्यौं’, निर्माता मालती शाहले भनिन् ।
उनका अनुसार अब यो चलचित्र जेठ पहिलो साता मात्रै रिलिज हुनेछ ,यद्यपी मिति भने तय भएको छैन् । क्लासिक स्टुडियो बिजुलीबजारमा सम्पादनको क्रममा रहेको यो चलचित्रले सांगीतिक प्रेम कथालाई समेटेको छ । कृष्ण पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र सर्दै गर्दा यसको प्रत्यक्ष फाईदा भने चैत्र १३ मा आउने चलचित्र ‘भुलभुलैया’ लाई पुगेको छ ।
अघिल्लो हप्ता प्रदर्शनमा आउने भनिएको ‘धुन’का लिड कलाकार जीवन लुईटेल र नीता ढुङ्गाना नै योगेश घिमिरे निर्देशित ‘भुलभुलैया’का लिड कलाकार रहेकोले पनि एउटै आर्टिस्ट हुँदा दुबै चलचित्रलाई प्रभाव पर्ने बताईंदै आएको थियो ।
चैत्र ६ मिति एसएलसी परिक्षाको बीचमा पर्नुको कारण पनि चलचित्र सार्नुको अर्को कारण हुनसक्छ । ‘धुन’ मा जीवन र नीतासँगै मुकेश ढकाल लिड रोलमा छन् । विरेन्द्र भट्टले खिचेको यो चलचित्रमा सुशिल शाह, विनोद भट्ट, श्रेया दुलाल, मधुसुदन ढकालको लगानी छ ।
किन सर्यो ‘धुन’ ?






