प्रचण्ड भोलिबाटै चुनावी अभियानमा फर्कने, तत्काल भाषण भने नगर्ने

काठमाडौँ- पुत्र प्रकाशको निधन भएपछि शोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि (मंगलबार) बाटै चुनावी अभियानमा फर्कने भएका छन् ।

आइतबार निधान भएका प्रकाशलाई श्रद्धाञ्जली दिन निजी निवास लाजिम्पाट आइपुगेका वाम गठबन्धनका नेता केपी शर्मा ओलीसँगको भेटपछि भोलिटबाटै प्रचण्ड चुनाव प्रचार अभियानमा होमिने भएका हुन् ।

‘एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्हालपछि प्रचण्ड भोलिबाटै चुनावी अभियानमा फर्कनुहुने भएको छ’, अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘तर, उहाँले तत्काल भाषण भने गर्नुहुने छैन ।’

वाम गठबन्धनबीच चुनावी अभियानका क्रममा पहिले प्रकाशको श्रद्धाञ्जली सभा गरिनेछ । त्यसपछि त्यही सभालाई चुनावी सभामा परिवर्तन गरिने अधिकारीले जानकारी दिए ।

प्रचण्डको साटो बादल बोल्ने

चितवनस्थित क्षेत्र नम्बर ३ मा हुने चुनावी सभामा ओली प्रमुख वक्ता हुनेछन् । कार्यक्रममा सहभागी भए पनि प्रचण्डले भाषण गर्ने छैनन् । उनको स्थानमा माओवादीका वरिष्ठ नेता रामबहादुर थापा बादलले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।