नुवाकोट, माघ ७ । स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनको विरोधमा उत्रिएका स्थानीय बासिन्दा र प्रहरीबीच शुक्रबार नुवाकोटको सदरमुकाम विदूरमा झडप भएको छ ।
झडपमा दुबैतर्फका गरी एकदर्जन बढी घाइते भएका छन् । शुक्रबारदेखि सदरमुकामकेन्द्रित आन्दोलन थालेका स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको हो । प्रहरीले झन्डै आधादर्जन हवाई फायर र केही राउन्ड रबरको गोलीसमेत प्रहार गरेको छ ।
जिल्ला प्राविधिक समितिको सिफारिसविपरीत पुनःसंरचना आयोगले लिखु गाउँपालिका हटाएको भन्दै ६ दिनदेखि आन्दोलित जिल्लाका पूर्वी भेगका बासिन्दाले सदरमुकामकेन्द्रित आन्दोलन थालेका हुन् ।
करिब दुई सयको संख्यामा आन्दोलनकारी सदरमुकामस्थित जिल्ला विकास समितिको कार्यालयमा पुगेका थिए ।
कार्यालयको मूलढोका नखुलेको भन्दै आक्रोशित भएर उनीहरुले जिल्ला विकास समितिमा तोडफोड गर्नुका साथै केही गाडीमा क्षति पुर्याएका छन् ।






