भारतले झुक्यायो : हटेन अवरोध, इन्धन दिन अझै आनाकानी

nepal-border-trucks-strandedकाठमाडौं, १७ असोज । भारतले अघोषित नाकाबन्दी खोल्न निर्देशन दिए पनि यसको पूर्णपालना भएको छैन । भन्सार नाकाबाट आइतबार बिहान इन्धन र मालबाहक गाडीहरु निर्वाधरुपमा नेपाल भित्रिन सकेका छैनन् ।

भारतले नाकाबन्दी खोलेको समाचार नेपाली मिडियामा व्याप्त भए पनि आइतबार बिहान १० बजेसम्म भारतीय सीमानाकाहरुको समाचार सुखद बन्न सकेको छैन ।

भारतले नाकाबन्दी खुलेको बताएर झुक्याएको भन्दै कतिपयले आशंका गर्न थालेका छन् । भन्सारका केही कर्मचारीहरु चाँहि आज आइतबार भारतमा सरकारी विदा परेकाले सोमबारदेखि भारतले तेलका ट्यांकरमाथिको अवरोध खुल्ने विश्वासमा छन् ।

बीरगञ्ज ठप्प, मितेरी पुलमा धर्ना जारी

नेपालको सबैभन्दा ठूलो वीरगञ्ज भन्सार नाकाबाट आइतबारसम्म एउटा पनि गाडी नेपाल भित्रिएका छैनन् । सबैभन्दा बढी खाद्यान्न, पेट्रोलियम पदार्थ र ग्यास भित्रिने वीरगञ्ज भन्सार नाका आइतबार दसौं दिन पनि बन्द छ । मधेसी मोर्चाका कार्यकर्ताहरुले मितेरी पुलमा धर्ना जारी राखेका छन् ।

झापा दिउँसो खुल्ने

झापाको काँकडभिट्टास्थित मेची भन्सार नाका भने आइतबार दिउँसोबाट सञ्चालनमा आउने बताइएको छ ।

पश्चिम बंगालमा स्थानीय ग्राम पञ्चायतको चुनावको कारण देखाउँदै सीमा नाकाहरु बन्द गरिएकाले मेची भन्सार नाका ३६ घण्टा यता बन्द छ । तर, आइतबार मध्यान्ह १२ बजेदेखि सीमानाका खुलेसँगै यातायातका साधन सञ्चालनमा आउने भारतीय अधिकारीहरुले बताएका छन् ।

मेची भन्सार हुँदै नेपाल भित्रिने पर्खाइमा ४ सयभन्दा बढी मालबाहक गाडी र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरु छन् ।

रानी भन्सार खुलेन

त्यस्तै बिराटनगरको रानी भन्सार पनि आइतबार ठप्पै छ । रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले इन्धन, ग्यास र मालवाहक सामान बोकेका एउटा पनि गाडी नभित्रिएको जानकारी दिए ।

रानी भन्सार नाका १० दिनदेखि बन्द छ । नेपाल आउन लागेका १ सय ११ वटा ट्यांकर, २१ बुलेट ग्यास र ८ सयको हाराहारीमा मालवाहक गाडीहरु भारतको जोगवनीदेखि फारबीसगञ्ज क्षेत्रमा लामवद्ध छन् ।

आइतबार भारतमा सार्वजनिक विदा भएकाले पनि नेपाल भित्रिने गाडीहरु नछाडेको हुन सक्ने रानी भन्सार प्रमुख बस्नेतले बताए ।

बेलहिया-सुनौली पनि उस्तै

रुपन्देहीको भैरहवास्थित बेलहिया-सुनौली नाकाका सरकारी अधिकारीहरुले माथिबाट आदेश नआएकाले गाडीहरु नेपाल भित्राउन नसकेको बताएका छन् ।

आइतबार दिउँसोसम्म आधिकारिक जानकारी आए गाडीहरु नेपाल पठाउने इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।

शनिबार राति १० बजेसम्म ९७ वटा मालवाहक गाडी, डिजलका ६ वटा ट्यांकर र ग्यास बोकेका २ बुलेट गाडीहरु नेपाल भित्रिएका थिए ।

शनिबार पेट्रोल बोकेको एउटा पनि गाडी नेपाल भित्रिएको थिएन । आइतबार विहान पनि सो नाकामा सवारी साधनको आवत-जावत ठप्प छ ।

कृष्णनगरबाट १२७ गाडी भित्रिए

कपिलवस्तुको कृष्णनगर नाकाबाट पनि आयात सहज हुन सकेको छैन । हिजो साँझ भैरहवाबाट डिजेलका ६ ट्यांकरसहित १२७ वटा मालवाहक गाडीहरु नेपाल भित्रिएका थिए । आइतबार अवरोध पूर्णरुपमा खुलेको छैन ।

नाकामा मधेसी मोर्चाका कार्यकर्ताहरु धर्नामा बसिरहेका छन् । नाकाबन्द हुँदा सरकारलाई दैनिक ३५ लाख बराबरको राजस्व घाटा भइरहेको भन्सारका प्रमुख ध्रुव विकले बताए ।

रुपैडिहा नाका पनि ठप्पै

बाँकेको नेपालगञ्जसँगको रुपैडिहा नाका शनिबार साँझसम्म पेट्रोलियम पदार्थ बोकेका १० वटा ट्यांकर र अन्य २६ वटा मालबाहक गाडीहरु नेपाल त्रिभिएका थिए । आइतबार भने सो नाका पनि ठप्प छ ।

कैलालीमा केही गाडी भित्रिए

उता, कैलालीको धनगढी नाका खुल्ला रहे पनि आइतबार बिहान कुनै पनि गाडीहरु नेपाल भित्रिएका छैनन् । सीमा क्षेत्र गौरीफन्टामा रोकिएका पेट्रोलका चारवटा गाडीहरुसहित केही मालवाहक गाडीहरु शनिबार राति नेपाल भित्रिएका छन् ।