काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न जिल्लामा हुने संयुक्त आमसभालाई सम्बोधन गर्न निस्किने भएका छन् ।
चुनावलाई लक्षित गर्दै एमाले र माओवादीले ताप्लेजुङ-दार्चुला अभियान सुरु गरेका छन् । वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गर्ने र पार्टी एकताको सन्देश दिने गरी संयुक्त चुनावी सभा गर्न लागिएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
ओली र प्रचण्डको संयुक्त चुनावी सभा भने आगामी २९ गते गोरखाबाट सुरु हुनेछ । गोर्खाका चार स्थानमा सभा आयोजना हुने वाम गठबन्धनका नेताहरुले बताएका छन् ।
कात्तिक ३० गते स्याङ्जा र बाग्लुङमा संयुक्त चुनावी सभा हुनेछ । मंसिर २ गते झापाको दमकमा र ३ गते काँकडभिट्टामा सभा आयोजना गरिने छ ।
झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली स्वयं उम्मेदवार छन् । झापाको क्षेत्र नम्बर १ मा माओवादी नेता राम कार्कीलाई सघाएको एमालेले अरु सबै क्षेत्र आफूले लिएको छ ।
यसैगरी ३ गते नै मोरङको विराटचोकमा, ५ गते रुपन्देहीको बुटवलमा र दाङमा, ७ गते सुर्खेत र दैलेखमा, ८ गते कैलाली र कञ्चनपुरमा तथा ९ गते पोखरामा चुनावी सभा गर्ने कार्यक्रम तय भएको छ ।






