सन्नीबाट अभिनेता असुरक्षित !

पोर्न फिल्मबाट बलिउड प्रवेश गरेकी भारतीय मूलकी क्यानेडाली अभिनेत्री सन्नी लियोनीले आफूबाट बलिउड स्टारका पत्नीहरूले असुरक्षित महसुस गरेको बताएकी छिन् । हालसालै दिएको एउटा अन्तर्वार्तामा सन्नीलेयस्तो बताएकी हुन् ।
अन्तर्वार्ताका क्रममा सन्नीले भनिन्, ‘मैले अहिलेसम्म जति पनि बलिउड अभिनेताहरूसँग काम गरेँ, तीमध्ये प्राय: सबै विवाहित छन् । कुनै सन्दर्भमा उनीहरूका पत्नीसँग भेट भएपछि म लामै समय गफिने गर्छु । गफका क्रममा उनीहरूले मबाट असुरक्षित महसुस गरेका छन् भन्ने महसुस मलाई हुने गर्छ ।’
यद्यपि, उनले यस्तो चिन्ता नलिन बलिउड अभिनेताहरूका पत्नी तथा गर्लफ्रेन्डहरूलाई आश्वस्त पारेकी छिन् । ‘उनीहरू सबैलाई म के भन्न चाहन्छु भने तपाईंहरूका पति अथवा ब्वाईफ्रेन्डप्रति मलाई कुनै रुचि छैन । किनकि, मसँग संसारकै असल पति छन्, मलाई हमेसा साथ दिने ।’
सन् २०१२ मा फिल्म ‘जिस्म–२’मार्फत सन्नीले बलिउडमा डेब्यु गरेकी थिइन् । फिल्ममा अभिनेता रणदीप हुड्डाले उनको जोडी भएर काम गरेका थिए । फिल्म सार्वजनिक भएपछि गर्लफ्रेन्ड नितु चन्द्रासँग रणदीपको सम्बन्ध बिग्रिएको समाचार सार्वजनिक भएको थियो । यद्यपि, केही समयपछि उनीहरूको सम्बन्ध पुन: पूर्ववत् अवस्थामा आएको बताइएको थियो । सन्नीलाई लिएर रणदीप र उनकी गर्लफ्रेन्डबीच विवाद भएको चर्चा त्यतिवेला चलेको थियो ।