काठमाडौं- मंसिर १५ गते बस्ने संसद् बैठक अगाडि नै मधेसी मोर्चासँग सहमतिको प्रयास थालनी भएको छ । सहमतिका लागि आइतबार पनि दलहरुबीच छलफल हुने भएको छ ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच अलग अलग भेट भएको छ । भेट भारतद्वारा गरिएको नाकाबन्दी र मधेस आन्दोलन समाधानका विषयमा केन्द्रित थियो ।
एमाओवादी अध्यक्ष दाहालले आगामी मङ्सिर १५ गते डाकिएको संसद्को बैठकअघि नै मधेसको समस्या समाधान गर्न आवश्यक कदम चाल्ने र नाकाबन्दीका बारेमा प्रमुख दलहरुबीच समान धारणा बनाउनेबारे छलफल गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग साँझ भएको भेटमा अध्यक्ष दाहालले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसवादी दल सम्मिलित त्रिपक्षीय बैठक तुरुन्त बोलाउन आग्रह गरे ।
अध्यक्ष दाहालले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर सहमति खोज्न अब ढिलो गर्न नहुने भनाइ प्रधानमन्त्रीसँग राखेका थिए ।
भेटमा प्रधानमन्त्रीले त्रिपक्षीय बैठक तुरुन्त राख्ने जानकारी अध्यक्ष दाहाललाई दिँदै आफू समस्या समाधानका लागि प्रयासरत रहेको जानकारी दिएका थिए ।






