काठमाडौँ । म्यान्मारमा सैनिक सरकारले लागु गरेको निषेधाज्ञाको अवज्ञा भएको छ ।
सोमवार राति सरकारले कर्फ्यु घोषणा गर्दै पाँच जनाभन्दा धेरै एकै ठाउँमा भेला हुन नपाउने नियम बनाएको थियो । तर निषेधाज्ञाको अवज्ञा गर्दै राजधानी नेपिद्अ, प्रमुख व्यापारिक सहर याङ्गुन, मान्डलेसहित देशभरका प्रमुख सहरमा व्यापक प्रदर्शन भएको छ ।
हजारौँको सङ्ख्यामा म्यान्मारवासीहरू सडकमा उत्रेर सैनिक शासनको विरोध गरेका छन् । उनीहरुले नेतृ आङ सान सू चीसहित सैनिकले नियन्त्रणमा लिएका सबैलाई रिहा गर्न माग गरेका छन् ।
सोमवार अपराह्नसम्म १३४ जना सैनिक नियन्त्रणमा रहेको भनिएता पनि सोमवार साँझदेखि मङ्गलवार अपराह्नसम्म पनि गिरफ्तारी जारी रहेकाले थप अधिकारकर्मी, नेता र प्रदर्शनकारी प्रहरी नियन्त्रणमा पुगेको प्रमुख पार्टी न्याश्नल लीग फर डेमोक्रेसी एनएलडीले जनाएको छ।
गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले ८३ प्रतिशत मत ल्याए पनि सेनाले त्यो चुनावमा अनियमितता भएको भन्दै स्वीकार नगर्ने बताएको छ।
सैनिक प्रमुख मीन आङ लाइङले सोमवार राति सैनिक टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै देशलाई सही मार्गमा लग्न सेनाले संविधान अनुसारै शासनभार ग्रहण गरेको र यसमा सबैलाई समर्थन गर्न आव्हान गरेका थिए ।
उनले एक वर्षमा चुनाव गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने समेत बताए ।
बीबीसीले जनाए अनुसार बर्मामा सैनिक शासनको विरुद्धमा मन्त्रालय र विभागका हजारौं कर्मचारीले सहभागिता जनाउँदै काममा नजाने भनेका छन्। सैन्य कू भएसँगै उक्त कदमको विरोधमा म्यानमरमा दैनिक जसो प्रदर्शन भइरहेका छन् । तर हालसम्म कुनै पनि हिंसाका खबरहरु भने आएका छैनन् ।
सैन्य मुख्यालय अगाडिको विरोधमा प्रहरीले भीडलाई तितरबितर पार्न प्रहार गरेको पानीको फोहराबाट घाइते भएका केही व्यक्तिहरुको अस्पतालमा उपचार भइरहेको छ ।






