पाल्पा- जब चुनावको माहोल गाउँमा शुरु हुन्छ तब नेताहरु लागि रामपुरवासीसँग भोट माग्ने चुनावी नारा बनेको छ लालपूर्जा दिन्छौँ भोट देऊ । तर अहिलेसम्म रामपुर नगरपालिकाका ८५६ घरधुरीले आफू बसोबास गरेको घर घडेरीको लालपूर्जा पाउन सकिरहेका छैनन् ।
आव २०३५/३६ सालदेखि हालको रामपुर नगरपालिका–५ मा रहेको रामतुलसी मावि र वडा नम्बर–६ को दरैठाँटी मावि सञ्चालनका लागि विद्यालयले घरघडेरी बिक्री गरेपछि सोही समयदेखि नै यहाँका स्थानीयवासीले भोगचलन गर्दै आइरहेका छन् ।
विद्यालयको नाममा रहेको घरघडेरीलाई व्यक्तिको नाममा उपलब्ध गराउन सरकारमा सहभागी उच्च व्यक्ति, राजनीतिक दलका नेताले लालपूर्जा दिने भनेको लामो समय भइसक्यो तर अहिले लालपूर्जा उपलब्ध गराउन सकिरहेका छैनन् ।
चुनावभन्दा अगाडि सबै राजनीतिक दल लालपूर्जा दिन्छौँ भन्दै घरघरमा भोट माग्न आउने गरेको रामपुर–६ विजयपुरका स्थानीय नारायणप्रसाद पाठक बताउनुहुन्छ । उहाँले दरैठाटी माविको नामबाट वितरण गरेको जग्गामा बसोबास गर्दै आउनुभएको छ ।
यस्तै रामपुर–५ बेझाडकी स्थानीयवासी दिलमाया सोमै पनि रामतुलसी माविको नामबाट वितरण गरिएको जग्गामा २५ वर्ष अघिदेखि घर बनाएर बसोबास गर्दै आउनुभएको छ ।
चुनावका बखत लालपूर्जा दिन्छौँ भनेर घरघरमा भोट माग्न जाने नेता चुनाव सकिएपछि लालपूर्जा दिने विषयमा अहिलेसम्म कसैले चासो नदिएको उनीहरु बताउँछन् । लालपूर्जाको पर्खाइमा रामपुर नगरपालिकाको वडा नम्बर ५, ६ र ७ का ८५६ घरधुरी छन् ।
सुकुम्बासी समस्या, अव्यवस्थित बसोबासका लागि राज्यले अधिकार दिए पनि विधि विधान र ऐनहरु नबन्दा लालपूर्जा उपलब्ध गराउन ढिलाइ भएको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
लामो समयदेखि भोगचलन गर्दै आइरहेको घरघडेरी आफ्नै नाममा स्थापित गर्न नपाउँदा किनबेचमा समस्या पर्ने गरेको पीडितको भनाइ छ । स्थानीय तहको संरचना कायम भए पनि राज्यले पूर्णरुपमा अधिकार नदिँदा काम गर्न समस्या भएको जनप्रतिनिधि बताउँछन् ।






