ण्डन । बेलायतका चान्सलर अफ दि एक्स्चेकर (अर्थमन्त्री) ऋषि सुनकले नेपालीको व्यवसाय स्थल मै पुगेर अवलोकन गरी व्यवसाय र व्यवसायीको प्रशंसा गरेका छन् । साउथ इष्ट लण्डनको बेक्स्ली, वेलिङ्गको हाई स्ट्रिट बेलग्रोभ रोड स्थित नेपाली युवा दम्पत्ति विदित न्यौपाने र आरती पुडासैनीद्वारा सञ्चालित वेलिङ्ग ग्रिनग्रोसरमा गत १३ नोभेम्बर २०२१, शनिबारका दिन पुगेर उनले यस्तो प्रसंशा गरेका हुन् ।
कोरोना माहामारीबाट प्रभावित भएका स्थानीय व्यवसायहरुको संरक्षणका लागि विभिन्न राहत प्याकेजहरु ल्याई चर्चा कमाएका सुनकले बेलाबखतमा विभिन्न स्थानका साना व्यवसाय स्थलमा गएर अवलोकन गर्दै व्यवसायीहरुलाई थप हौसला प्रदान गर्ने गर्दछन् । यसै क्रममा वेलिङ्ग ग्रिनग्रोसरको नाम र काम बारे थाहा पाई उनी व्यवसायको अवलोकनका साथै सञ्चालकहरुलाई थप हौसला प्रदान गर्न पुगेका थिए ।
यसरी वेलिङ्ग ग्रिनग्रोसर बेलायत सरकारका चान्सलर (अर्थमन्त्री) जस्तो उच्च स्तरको अति विशिष्ट व्यक्तिले स्थलगत अवलोकन भ्रमण गरी चासोका साथ व्यवसायीहरुसंग भलाकुसारी भएको नेपालीद्वारा सञ्चालित व्यवसायहरुमा पहिलो व्यवसाय बनेको छ । चान्सलर सुनकको यस्तो भ्रमण र भलाकुसारीबाट व्यवसाय सञ्चालनमा थप हौसला प्राप्त हुनुका साथै यसबाट बेलायतको सिङ्गो नेपाली समाजकै गौरव उँचो भएको न्यौपाने दम्पत्ति बताउँछन् ।
भ्रमणका अवसरमा चान्सलर सुनकले अभिरुचिका साथ स्टोरमा उपलव्ध विविध खाद्य सामाग्रीहरुको अवलोकन गरे । स्टोरमा नेपाली, इन्डियन, बेलायती एवम् अन्य उत्पादनहरुको विविधता पाएर आफू प्रभावित भएको व्यक्त गर्नुका साथै उनले आफ्नो परिवारका लागि आवश्यक केही सामाग्रीहरुको किनमेल समेत गरेका थिए ।
छोटै समयमा स्थापित हुँदै अगाडि बढिरहेकोमा व्यवसाय सञ्चालकहरु विदित न्यौपाने र आरती पुडासैनीलाई बधाई दिंदै व्यवसाय शुरु भए लगत्तै कोरोना माहामारी र लकडाउनको प्रतिकूलता आई लागेको भएता पनि सिर्जनात्मक सोंच र कार्य पद्दतिद्वारा स्थानीय समुदायलाई सेवा प्रदान गरिरहेकोमा उनले सञ्चालकहरुको मुक्तकण्ठले प्रसंशा समेत गरे ।
वेलिङ्ग ग्रिनग्रोसरले छोटै समयमा निकै ख्याति कमाउन सफल भएको छ । यस स्टोरमा नेपाली, बेलायती, साउथ इन्डियन, नर्थ इन्डियन, श्रीलङ्कन, अफ्रो–क्यारेवियन तथा अन्य कन्टिनेन्टका खाद्य उत्पादनहरुका साथै विभिन्न थरिका ताजा तरकारी तथा फलफूल उपलव्ध हुने कुरा स्टोरका सञ्चालकहरु बताउँछन् ।
व्यवसायलाई सफलतापूर्वक अगाडि बढाउँदै विगत दुई वर्ष देखि हाई स्ट्रिट स्टोरका साथै अनलाइन स्टोर समेत सञ्चालनमा ल्याई स्थानीयका साथै नेशनवाइड फ्रि डेलिभरीको व्यवस्था मार्फत थप ग्राहकहरुलाई सेवा पु¥याउन थालेकाछन् । यस्ता सेवाहरुले गर्दा आज सम्म आइपुग्दा वेलिङ्ग ग्रिनग्रोसर स्थानीय स्तरमा मात्र नभई ग्रोसरी बिजिनेशमा राष्ट्रिय स्तर मै परिचित नाम हुन थालेको छ । यसरी कमाएको नाम र साखले गर्दा नै स्थानीय व्यवसायहरुलाई हौसला प्रदान गर्ने हेतुले चान्सलर ऋषि सुनकको भ्रमणका लागि वेलिङ्ग ग्रिनग्रोसर छनौटमा पर्न गएको विश्वास सञ्चालकहरुको छ ।
कोभिड माहामारीका बेला बेलायती अर्थतन्त्रलाई धाराशाही हुन नदिन र साना व्यवसायहरुलाई संरक्षण गर्न राहतका प्याकेजहरु मार्फत सुनाकले निर्बाह गरेको भूमिकाले प्रसंशा बटुलेको छ । ऋषि सुनाक उनका कामहरुका कारण समकालिन विश्व परिवेशमा एक चर्चित र प्रभावशाली अर्थमन्त्रीका रुपमा देखिएका छन् । चान्सलर ऋषि सुनाक वेलिङ्ग ग्रिनग्रोसरको वेलिङ्ग बेलग्रोभ रोडमा रहेको स्टोरमा आउँदा नेपाली ढाका टोपी र खादा पहिराई उनको स्वागत गरिएको थियो ।
तस्वीरहरु
















