लन्डनमा नेपलिज ब्रिटिश कम्युनिटीको नेपालकै झल्को दिने गरि देउसी भैलो

लन्डन । लन्डनस्थित नेपालीहरुको च्यारिटी संस्था ‘नेपलिज ब्रिटिश कम्युनिटी यूके’ (एनबीसी यूके) ले देउसी भैलो कार्यक्रम गरेको छ ।

एनबीसी यूकेका करिब २० जना सदस्यले अक्टोबर २६ सांझ बुधबार गोवर्धन पूजाका दिन लन्डनमा नेपालकै झल्को दिने गरि देउसी भैलो खेलेका हुन् ।

सो अवसरमा नेपाल झैं देउसी भैलो भट्याएर नाचगान गरिएको कम्युनिटीका संयोजक राजेन्द्र ओझाले जनाए ।

विदेशमा रहेर पनि नेपाली मौलिक कला संस्कृतिको जगेर्ना गर्दै शुभकामना साटासांट गर्न देउसी भैलो गरिएको ओझाले बताए । उनले सहभागी सबैप्रति आभार पनि व्यक्त गरे ।

सांझ ७ देखि राती ११ बजेसम्म ४ वटा घरमा देउसी भैलो कार्यक्रम गरिएको हो जसबाट ५१३ पाउण्ड रकम संकलन भएको छ ।

संयोजक राजेन्द्र ओझा र सुनिता ओझा, सृजना कोइराला, नरेश थापा एवं अप्सरा थापा तथा लक्ष्मण पाण्डे र विनिसा भण्डारी पाण्डेको घरमा देउसी भैलो खेलिएको थियो । संयोजक ओझाको घर अन्तिम थियो जहां सहभागीले खानपिन, नाचगान गरेर माहोल थप रोमाञ्चक बनाएका थिए ।

सन् २०१० मा स्थापना भएयता मानवीय कार्य गर्दै आएको एनबीसी यूकेले देउसी भैलो खेलेर संकलित रकम पनि सामाजिक कार्यमै खर्चने बताएको छ ।