लन्डन । नेपालीहरुको दोस्रो ठूलो महान पर्व तिहार बेलायतका नेपालीले पनि उल्लासपूर्वक मनाएका छन् ।नेपाली सांस्कृतिक समाज युके (NCS UK)ले हिन्दुहरुको दोश्रो ठुलो चाड तिहार भव्य रुपमा मनाएको छ । समाजले हाम्रो संस्कृति हाम्रो पहिचान हामी नेपाली सधैको नेपाली भन्ने नारा सहित युकेको लिभरपुल शहरमा देउसी भैलो सहित अन्य रमाईलो कार्यक्रमका साथ भव्य रुपमा मनाएको हो । 
नेपालकै परम्परा अनुसार देउसी भैलो नाचगान गरेर सबैको घर घरमा देउसी भैलो कार्यक्रम प्रस्तुत गर्दै हर्षोल्लासका साथ आपसी सदभाव र एकता र मित्रता बाँढ्दै लिभरपुलमा तिहार मनाईएको समाजसेबी एबम नेपाली सांस्कृतिक समाज युकेका अध्यक्ष गोपाल अधिकारीले लण्डन नेपाल न्यूजलाई बताए । ‘पूर्खाहरुले कसरी देउसी भैलो खेल्थे, हाम्रो संस्कृति कस्तो थियो भन्ने कुरा देखाउनका लागि जतिसुकै ब्यस्त भएपनि आफ्नो नेपालीपन, संस्क्रिति र पर्व जोगाउन र नयाँ पिंढीलाई सिकाउन आफ्ना पर्वहरु मनाउनु पर्ने अध्यक्ष गोपाल अधिकारीको भनाई छ ।
देउसी भैलो कार्यक्रममा अध्यक्ष अधिकारीले तिहारको महिमा र महत्व बताएका थिए । त्यस्तै उपाध्यक्ष नेत्र खरेलले घर घरमै पुगेर आशिर्वाद सहित देउसी भैलोको व्यवस्थापन गरेका थिए ।
समाजका महासचिव श्रीमती कृष्णा गुरुङले देउसी समुह सहित घरदैलो तथा विभिन्न नृत्य र पूर्व तैयारी सहित भव्य रुपमा देउसी भैलो प्रस्तुतीको व्यवस्थापन गरेकी थिईन् ।

कार्यक्रम सम्पन्न गर्न समाजका विभिन्न व्यक्तित्वहरु नेपाली कम्युनिटीका दाजुभाई दिदी बहिनीहरु एवम् सारा पार्कर, जेएमयुका प्रोफेसरहरुले विशेष भुमिका निर्वाह गरेका थिए ।
भौगोलिक विविधता र सांस्कृतिक सम्पदाले भरिपूरणर् नेपाली मौलिक लोक कला संस्कृति र नेपाली मौलिक पनलाई जीवन्त राख्न समाजले विभिन्न चाडपर्वहरुमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।






