कास्कीमा बाह्रजना महिला चुनावी प्रतिस्पर्धा गर्दै

कास्की- मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कास्कीमा १२ जना महिला चुनावी प्रतिस्पर्धा गर्दै छन् ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका कूल १ सय १ उम्मेदवारमध्ये प्रतिनिधिसभाका लागि चार र प्रदेशसभामा आठजना महिलाले टिकट पाएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट उमा दर्लामी, राष्ट्रिय जनमोर्चाबाट दालकुमारी खत्री, संंघीय समाजवादी फोरम नेपालबाट रत्न भट्टचन र नेपाल दलित पार्टीबाट लक्ष्मी विश्वकर्माले उम्मेदवारी दिनुभएको छ ।

यस्तै प्रदेशसभा क्षेत्र नं १ (क) मा मंगोल नेशनल अर्गनाइजेशनबाट जानु गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट सीता श्रीस मगर, (ख) मा संघीय समाजवादी फोरम नेपालबाट काशीमाया गुरुङले मनोनयन दर्ता गराउनुभएको छ ।

यसरी नै प्रदेश नं २ (क) मा राप्रपाबाट विष्णु खड्का, (ख) मा नेपाल दलित पार्टीका मिठु परियार, प्रदेश नं ३ (क) मा नेपाली कांग्रेसबाट शारदा पौडेल, (ख) मा नेपाल दलित पार्टीबाट कमला विक र राप्रपाबाट धनुमाया कोइराला आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । वाम गठबन्धनबाट भने महिलालाई टिकट दिइएको छैन ।

जिल्लाका प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्रमा गरी चार स्वतन्त्रसहित १ सय १ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।