सिड्नी । नेपालमा हुने घूस कारोबारको रकम हुन्डीबाट अष्ट्रेलिया गइरहेको चर्चा भइरहँदा ठूलो परिमाणमा अवैध रकम कारोबार गर्ने नेपाली सिड्नीबाट पक्राउ परेका छन् । करिब ७ अर्ब ६१ करोड १३ लाख रुपैयाँ (१० करोड अष्ट्रेलियन डलर) अबैध कारोबार अभियोगमा नेपाली पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ३० वर्षीय विपिन थापा छन् । उनी बाहेक अन्य दुई व्यक्तिसमेत सो गैरकानुनी धनराशी प्रकरणमा पक्राउ परेका छन् । तीनदेखि चार वर्षको अवधिमा यो समूहले ८ देखि १० अर्ब डलरको अवैध हुण्डी कारोवार गरेको भेटिएको छ ।
अस्टेलिया क्रिमिनल ग्रुप स्क्वाडले थापासहित गगनदीप पवा, गोपाली दाहाललाई पक्राउ गरेको हो । यो ठूलो हुन्डी कारोबारका मुख्य अभियुक्त गगनदीप पवा हुन् । दाहाल उनकी घरेलु साझेदार भएको अनुसन्धान अधिकारीहरुले उल्लेख गरेका छन् । द सन्डे मर्निङ हेराल्डकाअनुसार उनीहरुले साउथ–वेस्ट सिड्नीलाई आधार बनाएर अवैध हुण्डी कारोबार गर्दै आएका थिए । पवा सञ्चालक भएको कम्पनीको नाममा एकै दिन स्रोत नखुलेको ४ लाख ४५ हजार डलर बैंक अफ न्यु साउथ वेल्समा जम्मा भएको थियो । अनुसन्धान अधिकारीहरुले त्यहीँदेखि उनीहरुमाथि निगरानी बढाएका थिए ।
पक्राउ गर्दाका बखत उनीहरुबाट प्रहरीले ४ लाख डलर, पैसा गन्ने मेसिन तथा ३ वटा सवारी साधनसमेत बरामद गरेको छ । देखाउनका लागि सेक्युरिटी व्यापारको कम्पनी खडा गरी भित्री रुपमा ठूलो रकमको अवैध कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।






