केजरीवाल सत्तामा फर्कदै

भारतको दिल्ली विधान सभामा आम आदमी पार्टी, आपले ठूलो बहुमतका साथ सरकार बनाउने देखिएको छ । मत गणनाको प्रारम्भिक नतिजामा ५५ देखि ६० सीटसहित आपका नेता अरबिन्द केजरीवाल फेरि दिल्ली सत्तामा फर्कने देखिँदैछ ।
७० सीटका लागि गत शनिवार गरिएको विधानसभा निर्वाचनमा आपसँग निकै प्रतिष्पर्धी ठानिएको भारतीय जनता पार्टीलाई एक दर्जन विधायक जिताउन पनि गाह्रो पर्ने प्रारम्भिक रुझानले देखाएको छ ।
कुनै समय दिल्लीमा लामो कार्यकाल राज गरेको कांग्रेस आईले त एक सीट पनि ल्याउन गाह्रो पर्ने देखिँदैछ ।
निर्वाचनलगत्तै गरिएका मतसर्वेक्षणहरुले आम आदमी पार्टीले बहुमत ल्याउने देखाए पनि यति धेरै सीटमा जित्ने आंकलन कसैले गरेका थिएनन् ।
भ्रष्टाचारविरुद्ध सुशासनको नारा लिएर सन् २०१३ को दिल्ली विधानसभा निर्वाचनमा ओर्लिएको आपले त्यसबेला बहमत पाउन नसक्दा कांग्रेसको समर्थनमा ४९ दिन राज्यमा सरकार चलाएको थियो ।
भ्रष्टाचारविरुद्धको अभियानमा केन्द्र सरकार र प्रशासनले सहयोग नगरेको भन्दै मूख्य मन्त्री अरबिन्द केजरीवालले राजीनामा गरेपछि दिल्लीमा राष्ट्रपति शासन लगाइएको थियो ।
केजरीवाललाई चुनौति दिन भाजपाले कुनै समय भ्रष्टाचार विरोधी अभियानमा सँगै रहेका पूर्व प्रहरी अधिकृत किरण वेदीलाई मूख्यमन्त्रीको उम्मेदवार बनाएपनि परिणाम भाजपाको पक्षमा देखिएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताको जाँचसमेत मानिएको यस निर्वाचनले मोदी लहरलाई रोकिदिएको टिप्पणी भारतीय सञ्चारमाध्यमहरुले गरेका छन् ।