
काठमाडौं- लन्डनबाट फर्केलगत्तै परराष्ट्रमन्त्री कमल थापा चीन जाने भएका छन् ।
चीन सरकारसँग इन्धन आयातलगायत अन्य व्यापारिक सम्झौता गर्न थापा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल पुस ८ गते दोस्रो हप्तामा त्यसतर्फ जान लागेको हो ।
भारतको अघोषित नाकाबन्दीपछि इन्धन आयात गर्ने विषयमा सरकारका विभिन्न निकायले चीनसँग औपचारिक तथा अनौपचारिक रुपमा जारी राखेको छलफललाई निष्कर्षमा पुर्याउने उद्देश्यका साथ उपप्रधानमन्त्री थापाको नेतृत्वमा प्रतिनिधिमण्डल त्यसतर्फ जान लागेको हो ।
हाल बेलायत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री थापा यही पुस ६ गते स्वदेश फर्किएलगत्तै चीन भ्रमणमा जाने बताइएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले केही समय पहिले गर्नुभएको चीनको अनौपचारिक भ्रमण र नेपाल आयल निगमका उच्च अधिकारीको भ्रमणपछि उच्चस्तरीय भ्रमणको तयारी गरिएको हो ।
चीनको सरकारी कम्पनी पेट्रो चाइनासँग व्यापारिक रुपमा इन्धन खरिद गर्ने विषयमा प्रारम्भिक सहमति भए पनि व्यापारिक सहमति भने हुन सकेको थिएन । निगमको प्राविधिक टोलीले पेट्रो चाइनाका उच्च अधिकारीसँग यसअघि नै छलफल गरेको थियो भने वाणिज्य मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठी लगायतको अर्को प्रतिनिधिमण्डल इन्धन आयातलगायत विषयमा द्विपक्षीय कुराकानी गर्न हाल चीनमै रहेको छ ।






