काम पूरा नगर्ने ठेकेदारहरुमाथि कारबाही

सम्झौता गरेर पनि समयमै सडक निर्माणको काम पूरा नगर्ने निर्माण कम्पनीहरुमाथि पूर्वाञ्चल डिभिजन सडक कार्यालय लहानले कारबाही सुरु गरेको छ । सिरहासहित सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन ३६ वटा सडकको निर्माणका लागि सम्झौता गर्ने तर समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरुमाथि कारबाही प्रक्रिया सुरु गरेको पूर्वाञ्चल डिभिजन सडक कार्यालय लहानका प्रमुख अनुठालालप्रसाद पटेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार समयमै काम सम्पन्न नगर्ने सिरहा, सप्तरी, उदयपुर र काठमाडौँका एक दर्जनभन्दा बढी निर्माण कम्पनीमाथि कारबाही सुरु गरिएको छ । सम्झौताबमोजिम ठेक्काको काम सुरु नै नगरेको र कार्य सुरु भए पनि सन्तोषजनक काम नगरेका कम्पनीहरुलाई मौखिक, पत्र तथा सूचनामार्फत पटक–पटक जानकारी गराउँदासमेत कार्य सुरु गर्नेतर्फ पहल नथालेपछि कारबाही सुरु गरेको प्रमुख पटेलको भनाइ छ ।
कारबाहीस्वरुप १९ वटा ठेकेदारको बैंक धरौटी जफत गर्न बैंकहरुलाई पत्र पठाइसकेको र अन्य ठेकेदारमाथि पनि सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ बमोजिम ठेक्का तोडी अन्य कारबाही अघि बढाएको प्रमुख पटेलले बताउनुभयो ।
कम प्रतिस्पर्धामा ठेक्का लिएर लामो समयसम्म काम सुरु नगर्ने र गुणस्तरहीन काम गर्ने प्रवृत्ति बढेको पाइएपछि त्यस्ता निर्माण कम्पनीहरुमाथि डिभिजन सडक कार्यालयले निगरानीसमेत बढाएको छ ।