काठमाडौं– महाधिवेशनको तीन दिनअघि अचानक जमुना गुरुङले अध्यक्षमा उम्मेदवारी घोषणापछि अध्यक्षका अर्का दाबेदार भवन भट्टले आश्चार्य प्रकट गरेका छन् ।
अध्यक्ष प्रतिस्पर्धी कुमार पन्त र टीबी कार्कीलाई उम्मेदवारीबाट पछाडि हटाइसकेका भट्टलाई गुरुङको उम्मेदवारीले चुनौति थपिएको छ । गुरुङले उम्मेदवारी घोषणालगत्तै भट्टले परिवारवाद सुरु भएको भन्दै व्यंग्य गरेका छन् । ‘हाम्रो देशको राजनिति एकै परिवार वरीपरी घुमिरहयो र देशले नयाँ सोच, प्रयास र जोश पाएन भनेर नेपालीको गुनासो रहेको छ। त्यहि गल्ती एनआरएन संस्कृतिमा पनि नहोस् र परिवर्तन सहितको नयाँ युगको सुरूवात र साथ एनआरएनमा पनि खाँचो छ,’ फेसबुकमा भट्टले लेखेका छन् ।
७७ मुलुकका नेपालीहरु सहभागी संघ सन् २००३ मा स्थापना भएको हो । संघमा दुई कार्यकाल डा. उपेन्द्र महतो अध्यक्ष रहे भने एक कार्यकाल देवमान हिराचन र एक कार्यकाल जीवा लामिछाने अध्यक्ष भए । महतोको दोस्रो कार्यकाल जबरजस्ती भिडाइएको थियो भने लामिछानेले आफू एक कार्यकालका लागि मात्र अध्यक्ष बन्ने पूर्वघोषणा नै गरेका थिए ।
त्यसपछि अध्यक्ष भएका घलेले दुवै पटक चुनाव जितेर अध्यक्ष बने । विधान अनुसार दुई कार्यकाल मात्र अध्यक्ष बन्न पाइने भएपछि उनले तेस्रो कार्यकालका लागि श्रीमतीलाई अघि सारेका छन् ।
संघको विश्व सम्मेलन तथा अधिवेशन १४ देखि १७ अक्टोबरसम्म काठमाडौंमा हुँदैछ ।






