आज संसदको अन्तिम बैठक

काठमाडौं– रूपान्तरित व्यवस्थापिका संसदको अन्तिम बैठक शुक्रबार बस्दैछ ।

संसद्को कार्यकाल समाप्त हुने भएकाले आज संसदको अन्तिम बैठक बस्न लागेको हो । कुनै अप्रत्याशित राजनीतिक घटनाक्रम विकसित नभए रूपान्तरित संसद्को कार्यकाल भोलि समाप्त हुनेछ । समानुपातिक निर्वाचनतर्फको मनोनयनपत्र दर्ता आइतबार हुने भएकाले संसदको कार्यकाल भोलि नै सकिने भएको हो । संविधानसभाका रूपमा २०७० माघ ७ बाट अधिवेशन सुरु भएको संसद् संविधान जारीपछि २०७२ असोज ३ पछि व्यवस्थापिकाका रूपमा मात्र कार्यरत थियो ।

संवैधानिक व्यवस्थाअनुसार चारवर्षे कार्यकाल माघ ७ गतेसम्म कायम भए पनि संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार भोलिदेखि कार्यकाल समाप्त हुन लागेको हो । संविधानको संक्रमणकालीन व्यवस्थाको धारा २९६ को उपधारा (१)को प्रतिबन्धात्मक वाक्यांशले प्रतिनिधिसभाको मनोनयनपत्र दाखिला गरेको अघिल्लो दिन नै कार्यकाल समाप्त हुने स्पष्ट छ । सभामुख ओनसरी घर्तीले आजको बैठक अन्तिम हुने भनी बुधबारको कार्यव्यवस्था परामर्श समितिमा नै जनाउ दिनु भएको थियो ।

संसद्को चालू अधिवेशनले मात्र हिजोसम्म ४२ विधेयक पारित गरेको छ । अझै १३ वटा विधेयक संसदीय समिति र संसदमा छन् । राष्ट्रिय सभा निर्वाचन विधेयक, भाषा आयोग गठन विधेयक, पूर्व विशिष्ट व्यक्तिको सेवा सुविधासम्बन्धी विधेयक, प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी विधेयक, यातनालाई कसुर घोषितसम्बन्धी विधेयक, अदालतको अपहेलना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका १३ विधेयक विचाराधीन छन् ।