चिनियाँ कमाण्डरले सापकोटा सँग भने-नेपालसँगको नाका छिट्टै खुल्छ

तातोपानी १४ असोज । चिनियाँ सीमा सुरक्षा बलले नेपालसँगको सीमानाका तत्काल खुलाउन पहल गरिरहेको जानकारी दिएको छ । विहीबार एकीकृत नेकपा माओवादीका नेता अग्निप्रसाद सापकोटासँगको छलफलमा चिनियाँ बोर्डर सेक्यूरिटी फोर्सका कमाण्डरहरुले नाका खुलाएर नेपाललाई अत्यावश्यक सामाग्रिहरु पठाउने बताएका हुन् ।
बाटोको अवस्था र बाटो खुलाउन भैरहेको कामको निरीक्षण गर्न सापकोटा विहीबार लिपिङ पुगेका छन् । उनीसँग अल्ट्रा म्याराथन धाविका मिरा राई, वाईसीएल, अखिल क्रान्तिकारी र सिन्धुपाल्चोक जिल्ला पार्टीका नेता-कार्यकर्ताहरु समेत छन् ।
सापकोटाले लिपिङ पुगेर चिनियाँ सेना र सडक विभागका अधिकारीहरुसँग छलफल गरेका थिए ।
‘तपाईंहरु सरकारी तहमा पहल गर्नुस् । हामी यता छिट्टै बाटो खुलाउँछौं,’ चिनियाँ सेक्यूरिटी बोर्डर फोर्सका कमाण्डरको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एमाओवादी सिन्धुपाल्चोक अध्यक्ष माधव सापकोटाले अनलाइनखबरसँग भने, ‘चिनियाँ सेनाले जस्तोसुकै सहयोग गर्छौं भनेको छ ।’
अहिले लिपिङ बजारमा झरेको ठूलो पहिरो पन्छाउने काम भैरहेको छ । तर, कम क्षमताका प्रविधि प्रयोग भैरहेकाले काम पनि सुस्त गतिमा भैरहेको छ ।
सडक बिभागका अधिकारीहरुले हाल १ सय ४० पीसी क्षमताको डोजर प्रयोग भैरहेको भन्दै २ सय पीसी क्षमताको उपकरणको व्यवस्था मिलाइदिन सापकोटालाई आग्रह गरेका थिए । सापकोटाले पनि त्यसकालागि आफूले पहल गर्ने आश्वासन दिएका छन् ।
एमाओवादी सिन्धुपाल्चोक अध्यक्ष माधव सापकोटाका अनुसार लिपिङ बजारको पहिरो पन्छाउनासाथ दुई तर्फी गाडी आवत-जावत हुनेछन् । करिब एकसाता भित्रै बाटो खुलाउन सकिने उनको भनाइ छ ।