भारतको समाज : महिलाका लागि विश्वको सबैभन्दा खतरनाक मुलुक !

एजेन्सी- उच्च यौन हिंसा र बेचबिखनका कारण भारत महिला हुन विश्वको सबैभन्दा खतरनाक मुलुक रहेको विज्ञहरूको एक सर्भेक्षणले देखाएको छ ।

द थोम्सन रोयर्टस फाउन्डेसनले मङ्गलबार सार्वजनिक गरेको सर्वेक्षणमा महिला मुद्दाका ५५० विज्ञहरूमाझ सर्वेक्षण गरेको थियो । सर्भेक्षणमा भारत महिला विरुद्धको यौन हिंसा, घरेलु कामको लागि मानव बेचविखन, काममा हिंसा, जबरजस्ती विवाह र यौन दासीहरूको प्राधानता जस्ता विभिन्न कारणले महिला हुनका लागि विश्वको सबैभन्दा खतरनाक मुलुक भएको देखिएको थियो ।

यो देश महिलालाई नकारात्मक असर गर्ने कूप्रथामा पनि सबैभन्दा खतरनाक देशमा परेको छ । सर्भेक्षणले कुरीतिअन्तर्गत एसिड आक्रमण, महिलाहरूको यौनाङ्ग सिलाउने, बाल विवाह र शारीरिक हिंसा यस देशमा अभ्यास भएको पाएको छ ।

सात वर्षअघि भारत यो सर्वेक्षणमा चोथौ स्थानमा थियो ।

यस सूचीको शीर्ष दशमा रहेका नौ मुलुकहरू एसिया वा एफ्रिकाका छन् । दशौं स्थानमा भने अमेरिका रहेको छ । अमेरिका यो सूचीमा समावेश भएको एक मात्र पश्चिमी राष्ट्र हो । फाउन्डेसनले अमेरिका यो सूचीमा पर्नु पछाडि ‘मिटु’ अभियानको प्रत्यक्ष हात रहेको बताए ।

यो रिपोर्ट भारतका विभिन्न स्थानमा भएका बलात्कार घटनाले देशलाई हल्लाइरहको बेलामा सार्वजनिक भएको छ । यी घटनाहरूले राष्ट्र व्यापी बहस सिर्जना गरेको छ ।

अप्रिलमा हजारौँले राम्रो सुरक्षा अवस्थाको माग गर्दै सडकमा प्रदर्शन गरेका थिए । यो ¥याली सन् २०१२ मा दिल्लीमा चिकित्साशास्त्र पढ्दै गरेकी एक युवतीको चलिरहेको गाडीमा बलात्कार पछि भएको हत्या भएको थियो । यसपछि ठूलो विरोध भएको थियो ।

यौन हिंसाको मुद्दाले लामो समयदेखि भारतलाई पिरोलिरहेको छ । सन् २०१२ को घटनापछि केन्द्रीय सरकारले यौन हिंसा, बलात्कार र यौन दुरव्यवहारसम्बन्धी एउटा कानुन पास गरेको थियो । त्यसमा दोषीलाई दिइने सजाय लम्याउनेदेखि मृत्युदण्डको व्यवस्थाहरू थपिएको छन् ।

तर कडा कानुन ल्याइएको भए पनि प्रत्येक दिन भारतमा देशभर १०० यौन हिंसाको रिपोर्ट पुलिससम्म आइपुग्ने त्यहाँको राष्ट्रिय अपराध अभिलेखालय ब्युरोले जानकारी दियो । प्रहरीमाथि ठूलो अविश्वास रहेको भारतमा प्रहरीसमक्ष नआइपुग्ने यस्ता घटना अझ थुप्रै हुन सक्छन् ।

महिला सुरक्षाका लागि अप्रयाप्त कार्यहरू
विज्ञहरूले भारतले महिलाहरूको सुरक्षाका लागि प्रयाप्त कार्य गर्न नसकेकाले भारत शीर्ष स्थानमा रहेका बताएका छन् ।

“भारतमा अझै पनि बलात्कार, वैवाहिक बलात्कार, यौन हिंसा र दुरव्यवहार, बालिका भ्रुण हत्याजस्ता कार्य व्याप्त छ । यसले महिलाहरूप्रति यहाँ रहको चरम अवहेलना र दुरव्यवहारको अवस्था देखाउँछ ।” कर्नाटक राज्य सरकारको एक अधिकारी मन्जुनाथ गङ्गमधाराले थोम्सन रोयटर्स फाउन्डेसनलाई भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यौन हिंसाको मुद्दा समाधान गर्नका लागि प्रयाप्त गम्भीरता नदेखाएको आरोप लाग्ने गरेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीले एक ट्विट गर्दै प्रधानमन्त्रीको यही गम्भीरताको अभावको आलोचना गरेका छन् । “हाम्रो प्रधानमन्त्री आफ्नो बगैँचामा योगा गरिरहेको भिडियो बनाइरहँदा भारतले महिलाहरूविरुद्ध गरिने बलात्कार र यौन हिंसामा अफगानिस्तान, सिरिया र साउदी अरबलाई समेत पछिपारेको छ,” राहुलले आफ्नो ट्विटमा लेखेका छन्– “हाम्रो देशका लागि यो अति लज्जाको कुरा हो ।”
मोदीले अघिल्लो अप्रिलमा बलात्कार “आफ्नो देशको ठूलो चिन्ताको विषय रहेको” बताएका थिए ।

त्यही महिना उनको सरकारले १२ वर्षमुनिका बाल–बालिकाहरूलाई बलात्कार गर्ने दोषीलाई फाँसीको सजाय ल्याउने कार्यकारी निर्णय ग¥यो ।

उक्त सूचीमा रहेका शीर्ष १० राष्ट्रहरू :
१. भारत
२. अफगानिस्तान
३. सिरिया
४. सोमालिया
५. साउदी अरब
६. पाकिस्तान
७. लोकतान्त्रिक गणतन्त्र कङ्गो
८. यमन
९. नाइजेरिया
१०.अमेरिका