लन्डन । आज नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ ।
आजको दिन घरघरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ ।
आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा टीका, जमरा तथा प्रसाद थापी ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ ।
विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ ।
असत्यमाथि सत्य र आसूरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन हो ।
त्रेता युगमा यसै दिन भगवान् रामले असत्यको प्रतीकका रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।
दशैंको टिका कोजाग्रत पूर्णिमासम्म पनि लगाउने चलन छ । यो वर्ष टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसै गरि बेलायतमा यस वर्षको विजया दशमी टिकाको शुभ साइत भने शनिबार बिहान ९ बजेर २५ मिनेट जादा उत्तम रहेको बेलायतस्थित पण्डित चिरन्जिवी ढकालले जानकारी गरउनु भयो ।
टिका लगाउँदा महिला र पुरुषलाई भिन्न भिन्न आर्शीवाद दिने गरिन्छ
पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद
ॐ
आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यसको अर्थ:
ॐ
द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायूको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।।
सूर्य पुत्र झै दानी होस्, भीमको जस्तो वल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।
महिलालाई टिका लगाइदिंदा भन्ने आशिर्बाद
ॐ
जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।
अर्थात्ः ति देवी जसले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।






