आइतबारसम्म मधेसी मोर्चासँग सहमति जुट्छ: अध्यक्ष दाहाल

Prachanda-1विराटनगर- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेसी मोर्चासँग भोलि(आइतबार)सम्म सहमति जुट्ने दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले मधेसमा जारी समस्याको निकास भोलिसम्म हुने बताएका हुन् । उनले व्यवस्थापिका संसद्को बैठक बस्नुअघि नै मधेसी मोर्चासँग सहमति हुने बताए ।

मधेसी मोर्चासँगको औपचारिक तथा अनौपचारिक छलफल सहमति नजिक पुगेकाले मधेस समस्याले निकास पाउने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले समावेशी समानुपातिक पद्धति, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणलगायतका विषयमा मोर्चा सहमति नजिक पुगेको बताए ।

प्रदेशको सीमांकनका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच पनि कुरा मिलेकाले समस्या समाधान अब धेरै टाढाको विषय नभएको उनको भनाइ थियो ।

उनले प्रदेशको सीमांकनको विषयमा उच्चस्तरीय राजनीतिक सयन्त्र निर्माण गरी आयोगमार्फत् तीन महिनाभित्र राजनीतिक सहमतिका आधारमा काम गर्न सकिने बताए ।