ओलीले छाडे एमाओवादी

hemantaकाठमाडौं- एमाओवादीका पोलिट्व्यूरो सदस्य हेमन्तप्रकाश ओली ‘सुर्दशन’ ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

ओलीले पार्टीमा नवधनाढ्याको बहुमत भएकाले एमाओवादीमा इमान्दार नेता कार्यकर्ताले बस्नुको औचित्य नभएकाले परित्याग गरेको बताए । ‘एमाओवादी नेतृत्व नवधनाढ्या वर्गमा परिणत भइसकेको छ, अब त्यहाँ बसेर देश, जनता र समाजको लागि सेवा गर्ने नसक्ने भएकाले मैले आजको मितिबाट स्वतन्त्र भएको घोषणा गरेको छु’ नेता ओलीले भने ।

प्रचण्डको पछिल्लो राजनीतिक दस्तावेजपछि एमाओवादीसँग आफ्नो मोह भङ्ग भएको बताउँदै नेता ओलीले भने, ‘प्रचण्डजीको पछिल्लो राजनीतिक दस्तावेजपछि अब पक्का भएको छ कि प्रचण्डजी काल्पनिक समाजवादी हुन् ।’ यो संविधानको कार्यन्वयन गरेर समाजवाद ल्याउने प्रचण्डका कुरा कल्पनिक भएको पनि उनले ठोकुवा गरे ।

उनले जनयुद्धले विकास गरेको विचारलाइई प्रचण्डले आफ्नो पैत्रिक सम्पति जस्तै विचारलाई एकपछि अर्को गरि छोड्दै गएकाले माओवादी विघटनतिर गएको पनि दाबी गरे । ‘प्रचण्डपथ प्रचण्डका बाउको हो र ? नारायणकाजीसँग बसेर खुसुक्कै छोड्ने’ ओलीले पत्रकार सम्मेलनमा भने ।

एमाओवादीमा भ्रष्ट नेताहरुको आफूले पोल खोल्ने बताउँदै बोगटी र शेरचन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बताए । ओलीले वैद्य र विप्लवले अगाडि सारेका कार्यदिशाको अध्ययन गरेर निर्णयमा पुग्ने बताए ।