लन्डन । गुल्मी जिल्ला समाज यूकेले गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके र नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेमा नवनिर्वाचित गुल्मेली पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
आइतबार साउथ इष्टको ग्रीनवीचस्थित ‘माउन्टेन भ्यू’ रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमका साथ गुल्मेलीहरु सम्मानित भएका हुन् । एनआरएनए यूकेमा निर्वाचित अध्यक्ष प्रेम गाहामगर, कोषाध्यक्ष विष्णु खरेल र कार्यसमिति सदस्य भिम खनाल, नेपाल पत्रकार महासंघ (एएफएनजे यूके) अध्यक्ष ध्रुवराज अर्याल, उपाध्यक्ष तथा लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारी र सचिव तथा लण्डन नेपाल न्यूजकी सम्पादक मञ्जु भण्डारी, एनआरएनए यूके निवर्तमान महासचिव फडिन्द्र भट्टराई, एफएनजे यूके संस्थापक अध्यक्ष नवीन पोखरेल र लण्डन नेपाल न्यूजका विशेष संवाददाता प्रकाश कंडेल सम्मानित भएका हुन् ।
एनआरएनए यूकेको नवनिर्वाचित कार्यसमितिमा नेपालमा गुल्मी घर भएका १२ जना पदाधिकारी तथा सदस्य निर्वाचित भएपनि अरु कार्यक्रममा उपस्थित भएका थिएनन् ।
कार्यक्रममा पशुपतिनाथ मन्दिर लन्डनको नयाँ कार्यसमितिका निर्वाचित अध्यक्ष दासुराम पाण्डे, उपाध्यक्ष सरिता पौडेल, सहसचिव राधा खरेल, जनप्रगतिशिल मञ्चका अध्यक्ष सुरेश गौतम तथा क्षेत्री समाज यूकेकी महिला संयोजक माया केसीलाई पनि सम्मान गरियो ।
सबै संस्थामा निर्वाचित गुल्मेलीहरुलाई समाजका अध्यक्ष टोप पल्ली, संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष राम गलामी, सल्लाहकारहरु बालजंग अर्याल, दुर्गा पाण्डे, विनोद ज्ञवाली, क्याप्टेन ताम ढेगा लगायतले खादा ओढाएर सम्मान गरेका थिए ।
समाजका अध्यक्ष टोप पल्लीले बेलायतका प्रतिष्ठित संस्थाहरुको नेतृत्वमा गुल्मेलीहरु पुग्नु जिल्लाकै लागि गौरव भएको धारणा राख्दै सबैलाई बधाई दिएका थिए ।
सम्मानित भएपछि बोल्दै एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले बेलायतको नेपाली समुदायमा गुल्मी जिल्ला समाजको सदस्यका रुपमा सधैं गौरव महसुश हुने गरेको भन्दै बेलायतका गुल्मेलीहरुबीचको एकता र मेलमिलाप अरु समुदायका मानिसहरुले पनि सिक्नलायक भएको बताए ।
पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुवराज अर्यालले सम्मान र हौसलाका लागि समाजप्रति आभार प्रकट गर्दै संस्था हाँक्न गुल्मेलीहरुको पर्याप्त सहयोग रहनेमा विश्वास व्यक्त गरेका थिए ।
समाजका महासचिव वीर बलालले सञ्चालन गरेको सो कार्यक्रममा कोषाध्यक्ष वरुण भण्डारी, सहकोषाध्यक्ष तारा भट्टराई, प्रवक्ता रुद्र थापासहित पदाधिकारी तथा सल्लाहकारहरुको ठूलो उपस्थिति थियो ।






