एमाओवादीलाई ४ सिट जित्न पनि गाह्रो – ओली

पोखरा , १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  एकीकृत नेकपा माओवादीले आफूलाई नसच्याए आगामी निर्वाचनमा दुई-चार सिट पनि ल्याउन नसक्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय परिषद् बैठकलाई सोमबार पोखरामा उदघाटन गर्दै उनले भने, ‘आफूले भनेको कुरा मात्रै सहमति हो भन्ने ठान्ने एमाओवादीले आफूलाई नसच्चाए अर्को चुनावमा दुई-चार सिट पनि ल्याउन पनि गाह्रो छ ।’

क्रान्ति जनताको अग्रगामी हितका लागि हुनुपर्ने भन्दै ओलीले जालझेल, तिकडम र उत्पात मच्चाउने काम त्याग्न एमाओवादीलाई सुझाव दिए ।

देश रुवान्डा बन्न सक्ने चेतावनी

जातीय आधारमा संघीयतामा गए नेपालले रुवान्डा, सुडान र नाइजेरियाको जस्तो नियती भोग्नुपर्ने ओलीले बताए । उनले जातीय प्रदेश बनाउनुपर्छ भन्नेहरुले देशमा युद्ध निम्ताउन खोजेको टिप्पणी समेत गरे ।

दोस्रो संविधानसभालाई असफल हुन नदिइने र संविधानसभाबाटै नयाँ संविधान जारी गरी छाड्ने ओलीले दृढता व्यक्त गरे । उनले नयाँ संविधान जारी गर्न नेपाली काँग्रेसलगायत अन्य शक्तिसँग एकताबद्ध भएर अघि बढ्ने बताए ।

कार्यक्रममा ओलीले जनसंस्कृति पुरस्कार वरिष्ठ चलचित्रकर्मी देशभक्त खनाललाई प्रदान गरेका थिए । यो पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।

यस्तै १५ हजार रुपैयाँ राशिको जनसंस्कृति युवा प्रतिभा पुरस्कार अन्जु आलेलाई र पाँच हजार राशिको सहिद अनिल लामा स्मृति ललितकला युवा प्रतिभा पुरस्कार दीपेन्ऽमान बनेपालीलाई प्रदान गरिएको थियो ।