काठमाडौं । केही दिनअघि एमाओवादी लगायत ३० दलिय मोर्चाले नेपाल बन्द घोषणा गर्दा नायिका पि्रयंका कार्कीले बन्दकर्ताविरुद्ध आक्रोश पोखिन फेसबुकमार्फत् ।
‘यो बन्द शन्द मानिदैन म त बिहानै स्कुटर लिएर काममा हिंडे । हेरौं कसले रोक्दो रहेछ ।’ प्रियंकाको यो स्टाटस निकै चर्चित भयो । धेरैले लाईक र कमेन्ट पनि गरे । कमेन्ट गर्नेहरुमा उनको आँटको प्रसंसा गर्नेहरु धेरै थिए ।
सामाजिक सञ्जालमा त्यति धेरै प्रसंसक बनाउन नसके पनि बेला बेलामा कडा स्टाटस लेख्ने गरेकी छिन प्रियंकाले । कुन फिल्ममा काम गर्दैछिन् ? कुन फिल्मको गीत एवं प्रोमो कस्तो छ भन्नेमा पनि उनले आफ्ना दर्शकलाई फेशबुकवाटै जानकारी दिने गरेकी छिन् ।
पछिल्लो पटक ‘सुन्तली’ को हरेक इभेन्टलाई फेशबुकमा पोष्ट गरेकी पि्रयंकाले आफ्ना कतिपय निजी कुरा पनि शेयर गर्ने गर्छिन ।
रोमनमा स्टाटस लेख्छन् रामकृष्ण
केही दिन अगाडि मात्रै नयाँ भिडियो सार्वजनिक गरेका रामकृष्ण ढकालको बुझाईमा अहिले गीत संगीतको प्रचार प्रशारका लागि सामाजिक सञ्जाल सजिलो माध्यम हो । उनले आफ्नो भिडियोलाई फेशबुकमा शेयर गरे र दर्शक स्रोताको प्रतिक्रिया पाए ।
ढकालको फेशबुक स्टाटसमा प्रायः युनिकोड हुँदैन । रोमन र अंग्रेजी भाषामा स्टाटस लेख्ने ढकाल कहिले कहाँ पुगे भन्ने जान्नका लागि फेशबुक नै पर्याप्त हुन्छ अहिले । आफु पुगेका कार्यक्रममा परिवारसहितको तस्बिर हाल्ने गरेका छन् उनले ।
कोमलको स्टाटस ‘आधिकारिक’
आफ्नो फेशबुक स्टाटसमा लेखिएका हरेक कुरा आधिकारिक भएको दाबी गर्ने कोमल वलिले पनि कुनै ठाउँमा कुन कार्यक्रममा गएको हो स-चित्र राख्ने गरेकी छिन् ।
गाउँ (दाङ)मा धान काट्दै गरेको तस्बिर देखि बुटवलमा गीत गाउँदै गरेको तस्बिर पोष्ट गर्न भ्याउने वलि नेपाली कलाकारका लागि यी सामाजिक संजाल बरदान सावित भएको बताउँछिन् ।
जहाँ पुग्छिन् ती ठाउँको प्रसंसा गरेर स्टाटस लेख्ने वानीले उनका प्रसंसशक बढिरहेका छन् । घरमा पालेको कुुकुर बिरामी भएको प्रसंग देखि स्टेजमा गाउन जाँदा दर्शकले घेरेका कुराहरु समेत उनले फेशबुकमा उल्लेख गर्ने गरेकी छिन् । हरेक दिन केही न केही स्टाटस लेखेकै हुन्छिन् वलिले ।
केकीको समाजसँग जोडिने पुल
नेपालले वल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने पक्का भनेर लेखिएको समाचार पोष्ट गर्दै केकी अधिकारीले लेखेकी थिईन् ‘यो हो नि शुभ समाचार जय नेपाल’ ।
कुनै पनि सामाजिक काम एवं च्यारीटीहरुमा सहभागी भएपछि तस्बिर सहित जानकारी दिने गरेकी छिन् उनले ।
प्रायः रोमन र अंग्रेजी मिसाएर लेख्ने गरेकी छिन् उनले । समाजिक मुद्दाहरुका विषयमा अलि बढी चासो राख्ने केकी न्युज पोर्टलमा छापिएका राम्रा कुराहरुलाई शेयर गर्छिन ।
उनका स्टाटस अन्य हिरोइनको भन्दा अलि फरक हुन्छन । फिल्ममा सुटिङ गरिरहेका र केही निजी पलहरुका तस्वीरसमेत उनले फेसबुकमा पोष्ट गर्छिन् ।
समाजवाट टाढा छन् रेखा र आर्यान
फेसबुक पेजमा नियमित स्टाटस लेख्छिन् रेखा थापा । नयाँ फिल्मको पोष्टर र प्रोमोलाई बडो महत्व दिएर पोष्ट गर्ने रेखाले मन्दिर गएको, परिवारका सदस्यले बर्थ डे मनाएको, प्रसंसकहरुसँग तस्बिर खिचएको समेत पोष्ट गर्छिन ।
आफुले निर्माण र अभिनय गरेका फिल्म चलेको बेलामा ‘समाचार स्टाइल’ मै स्टाटस लेख्ने गरेकी छिन् रेखाले ।
कुनै पनि कार्यक्रममा सहभागी भएपछि तस्बिर सहित जानकारी दिने रेखा समाज भन्दा अलि परै छिन् । नेपालगञ्जको बैतडी वासवाडीको कार्यक्रममा पुगेकी रेखाले २५ हजार दर्शकसँग भेट भएको भन्दै तस्बिर सहितको फोटो पोष्ट गरिन् । उनको यो २५ हजार मान्छे उभिएको कुरो पनि ‘तथास्तु’ हिट भयो भने जस्तै भएको थियो ।
नेपाली समाज भन्दा अलि टाढै रहेकी रेेखालाई अझै भ्रम छ ‘मैले जे भने पनि दर्शकले पत्याउँछन्’ ।
आफैले काम गरेको फिल्मको पोष्टर प्रोमो र श्रीमती सहितको तस्बिरलाई महत्व दिने आर्यन सिग्देलले पनि ज्ञानज्ञुनका कुरालाई फेशबुक स्टाटस बनाउन जाँगर चलाउँदैनन् ।
नायिका ऋचा शर्मा, बेनिशा हमाल र माल्भिका सुब्बा लगायतका कलाकार स्टाटस लेख्नु अघि गम्भिर हुने गर्छन् । राजबल्लभ कोईरालाको स्टाटस गम्भिर प्रकृतिको हुने गरेको छ ।
केही कलाकार यस्ता छन, जसले म यो फिल्ममा छु, यसका काम गरेको छु हेरिदिनु होला भनेर पटक-पटक दर्शकसँग अनुनय गरिरहेका हुन्छन् ।







