काठमाडौं- प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाएको छ।
बबरमहल स्थित कार्की बैंक्वेटमा भएको प्रचण्ड नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकले ओलीलाई हटाएको हो । कुल ४४७ जना केन्द्रीय सदस्यमध्ये ३१५ सदस्य उपस्थित बैठकबाट ओलीलाई अध्यक्षपदबाट हटाएको हो।
प्रचण्ड नेपाल पक्षका केन्द्रीय सदस्यहरूको सर्वसहमतिमा ओलीलाई अध्यक्षबाट हटाइएको एक जना केन्द्रीय कमिटी सदस्यले जानकारी दिए। बैठकले बालुवाटारमा ओलीले बोलाएर गरेको बैठकको निर्णय पनि अनधिकृत भएको ठहर गरेको छ। त्यसैगरी बैठकले ओलीको ठाँउमा माधव कुमार नेपाललाई चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष नेपाललाई अर्का अध्यक्ष दाहालले बधाई दिए ।योसँगै नेकपा आगामी दिनमा पनि दुई अध्यक्षीय प्रणालीमै अघि बढ्ने भएको हो ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पुस ५ गतेकै पार्टी स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । सोही प्रस्तावमाथिको छलफलपछि उनलाई अध्यक्षबाट हटाउने निर्णय भएको हो ।






