लण्डन । गैरआवासीय नेपाली संघ यूकेमा चुनावी सरगर्मी बढ्न थालेको छ । आगामी अध्यक्षका उम्मेदवारहरु मतदाताबाट समर्थनको अपेक्षा राख्दै दौडाहामा व्यस्त भएका छन् ।
गैर आवासीय नेपाली संघ बेलायतको सुधार तथा सबै नेपालीहरुलाइ सघको मुल प्रवाहमा ल्याउने प्रतिबद्धताको लागि संघको २०१९— २०२१ का लागी गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष पदका उमेदवार प्रेम गाहा मगर लाई नर्दन आयरल्याण्डस्थित नेपाली हरुले पुर्ण रुपमा सहयोग गर्ने भएका छन् ।बेलाफास्टमा भेला भएका नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदका सबै सदस्यहरुले मगरको उमेदवारीलाई इन्डोर्स गरेका हुन् ।
यसैबीच, गैर आवासीय नेपालीहरुको सम्पत्तीको अधिकार, नेपाली नागरिकता तथा गैर आवासीय नेपाली संघका गतिविधी सम्बन्धमा बेलफाष्टमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गैर आवाशिय नेपाली संघ युके नर्दन आयरल्याण्ड राज्य समन्वय परिषद नर्दन आयरल्याण्डद्वारा आयोजीत उक्त अन्तरक्रिया कार्यक्रममा गैर आवासिय नेपाली संघ (एनआरएन यूके) उपाध्यक्ष प्रेम गाह मगरले नेपाली नागरिकताको निरन्तरता तथा सम्पत्तिको अधिकारको ग्यारेन्टीका लागि गैर आवासीय नेपाली संघले थप र प्रभावकारी कार्य गर्न आवस्यक भएको औल्याउनु भयो ।
गैर आवासीय नेपाली संघ युके लाइ केही मानिसको इसारामा कार्य गर्ने संस्था नभै बेलायतमा बस्ने सबै नेपालीको साझा संस्था बनाउनु पर्ने बताउनु भयो । कार्यक्रमामा गैर आवासीय नेपाली संघका सह कोषाध्यक्ष सोम सापकोटाले गैर आवासीय नेपाली संघले नेपाली नागरिकताको निरन्तरता, सामुहिक लगानी लगायतका विषयमा कार्य गरिरहेको बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा कानुन विज्ञ अधिबक्ता नारायण दत्त कडेलले नागरिकता सम्बन्धी ऐनको दफा १० मा बिदेशको नागरिकता लिएमा नेपाली नागरिकता स्वतः खारेज हुने भन्ने कानुनी ब्याबस्था भएकोले नागरिकताको निरन्तरता हुन नसकेको बताउनु भयो । उहाले संविधानको धारा १४ ले ब्यबस्था गरेको गैर आवासीय नेपाली नागरिकता सिद्धान्ततः गलत भएको र यसले नागरिकताको निरन्तरता हुने सम्भावनामा अवरोध गरेको बताउनु भयो ।
गैर आवासीय नागरिकता नामले मात्र नागरिकता भएको अन्यथा गैर आवासीय नेपाली कार्ड भन्दा फरक छैन अधिबक्ता कडेलले बताउनु भयो । उहाले नेपालको संविधानको धारा २९१ ले प्रवासमा बस्ने नेपाली नागरिक हरुलाइ उनिहरुले आर्जन गरेका ज्ञान सिप नेपालमा प्रयोग गर्न प्रत्यक्ष रोक लगाएकोले भेदभाव पुर्ण भएको औल्याउनु भयो । यसै गरि विदेशको नागरिकता लिने वित्तीकै नेपालमा भएको उनीहरुको सम्पत्ती गुम्छ भन्ने कुरा निराधार भएको भन्दै अधिबक्ता कडेलले नेपालको संविधान र कानुनले गैर आवासीय नेपालीको सम्पत्तीको पुर्णरुपमा रक्षा गरेको बताउनु भयो । कार्यक्रममा नेपाली एकाउन्टेन्ट सुभाष भण्डारीले बेलायती कर प्रणालीका बारेमा प्रस्तुत गनु भएको थियो ।
नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदका सभापति लिलाराम निउरेको सभापतित्वमा भएको सो कार्यक्रममा गैर आवासिय नेपाली संघ आयरल्याण्डका सभापति नवराज कोइराला, नेपाली संघ आयरल्याण्डका पुर्व सभापति गणेश प्रसाईं, विकास चुडाल लगायतले बोल्नु भएको थियो भने कार्यक्रम नेपाली कम्युनीटी नर्दन आयरल्याण्डका उपाध्यक्ष बल बहादुर थापाले सन्चालन गनु भएको थियो ।






