शिव भण्डारी
लण्डन । बेलायतमा श्री ५ पृथ्वीनारायण शाहको २९९ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस आज भव्यताका साथ मनाईएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा बेलायत र नेपालका कयौं वुद्धिजिवीहरुको सहभागितामा २९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भर्चुअल रुपमा मनाइएको हो ।
संस्थाका अध्यक्ष भरत रोका क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जंगमान गुरुङ, रहनुभएको थियो भने राजनैतिक विश्लेषक डा सुरेन्द्र केसी, नागरिक समूह नेपालका अध्यक्ष निगम हुमगाई, विशेष अथिति नेपाली दुतावास लण्डनका डेपुटी चिफ अफ मिसन रोशन खनाल ,विशेष अथिति वरिष्ठ समाजसेबी एबंम यती नेपाली एसोसिएसन यूकेका प्रमुख सल्लाहकार ओबिइ डा. राघव धितालको विशेष आतिथ्यता रहेको थियो ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत रोकाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष ध्रुव केसी,यती पूर्व अध्यक्ष चिरन्जिवी ढकाल,पूर्व अध्यक्ष उमेशराज मोक्तान,नेपाली साहित्य विकास परिषद यूकेका अध्यक्ष कोमल मल्ल श्रेष्ठ, समाजसेवी साहित्यकार बिभिन्न कृतिका लेखक विकल चन्द्र आचार्य, नेपाली साहित्य विकास परिषद यूकेका संस्थापक अध्यक्ष सुरेशजंग शाह,नेपाल प्रहरीका पूर्व डिएसपी पत्रकार बाचस्पति रेग्मी, नेपाली वेलफेयर सोसाइटी यूके अध्यक्ष तथा बाँचौँ र बचाऔँ अभियानका संयोजक धन बहादुर सार्की,एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, सदस्य ललित न्यौपाने,वंशज नागरिकता निरन्तरता महा-अभियानका संयोजक खगेन्द्र पाठक,समाजसेवी कृष्णजंग साह, साहित्यकार हरिसिंह थापा, नेपाली सेनाका सेनानी कुमार बस्नेत, समाजसेवी साहित्यकार एबम कबि रेसम अर्याल, चिरन्जिवी पौडयाल, ठकुरी समाज यूकेका अध्यक्ष, राम राजा मल्ल लगायतको विशेष उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. गुरुङले पृथ्वीनारायण शाहले विभिन्न जातजातीहरुलाई एक गरी सैन्य शक्ति बनाइ देश एकीकरण गरेको बताए । सिन्धुलीगढीको लडाईमा शाहले विश्वको कुनै पनि देशमा नहारेका अँग्रेजहरुलाई परास्त गरेको भन्दै उनले प्रयोग गरेको सैन्य रणनीति निकै उत्कृष्ट रहेको बताए । उनको त्यो सैन्य रणनीति सबल भएकै कारण संसारका कुनै पनि वैरीले उनलाई जित्न नसकेको र नेपाल एकीकरणको सपना साकार भएको उनको भनाई छ । पृथ्वीनारायण शाहले राई लिम्बू देखि सबै जातजाातीलाई समेट्दै चार जात छत्तीस बर्णको फूलबारीको अभियान थालेर देश एक बनाएको उनको भनाई छ ।
यस्तै राजनैतिक विश्लेषक डा. केसीले पृथ्वीनारायण शाहका बारेमा ५ पक्षको चर्चा गरे । उनले गरेको कामलाई कतिले नेपाल राष्ट्रको एकीकरण भनेको त कसैले गोर्खा राष्ट्रको बिस्तार पनि भनेको र यसलाई कसरी हेर्ने, कस्तो ऐतिहासिक परिवेशमा पृथ्वीनारायण शाह आउनुपरेको थियो, उनले चालेको कदमको औचित्य, यसको नेपाली राजनीतिमा पुष्टि भयो या भएन तथा शाहको योगदानको आजको सन्दर्भ गरी ५ विषयमा प्रकाश पारेका थिए । उनले आफ्नो बाबुको अभियान असफल भएपछि सानो राज्यको विस्तारको अभियान शुरु गरी सिंगो देश बनाएको बताए । उनले पृथ्वीनारायणले गोरखा राज्य मात्र विस्तार गरेको भए आज देशको नाम नै गोरखा अधिराज्य हुने भन्दै त्यसरी नबुझ्न आग्रह गरे । उनले गोरखा राज्य विस्तारबाट शुरु भएको अभियान नेपाल देश बनाउने कुरामा टुंगिएको बताउँदै शाहलाई गोर्खा राज्य विस्तारक नभनी नेपाल एकीकरण गर्ने व्यक्तिको रुपमा सम्मान गर्नुपर्ने बताए ।
नागरिक समूह नेपालका अध्यक्ष निगम हुमागाईंले पृथ्वी नारायण शाहको व्यक्तित्व तथा ऐतिहासिक पक्षबारे धारणा राखेका थिए । देश चार जात छत्तीस वर्णको फूलबारी हो भन्ने शाहले सबैको अस्तित्व कायम राखेको जनाए । उनलाई राजनीतिक वाद, पार्टी वा भेदभावभन्दा माथि राखेर राष्ट्र निर्माणकर्ताका रुपमा हेरिनुपर्नेमा पनि जोड दिए ।
समाजसेवी मदन थापाले कार्यक्रमको सुभारम्भमा मंगल धुन सहित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले पृथ्वीनारायणको योगदानको सबैले सम्मान गर्दै राजाको विषयमा मात्र उनको योगदानलाई तुलना गर्न नहुने बताए । त्यस्तै केही वक्ताले कविता वाचन गरेका थिए ।
संस्थाका अध्यक्ष भरत क्षेत्रीको स्वागत रहेको कार्यक्रमको पहिलो सत्रको औपचारिक कार्यक्रमको सञ्चालन एनआरएनए यूके सचिव,यती नेपाली एसोसिएसन यूकेका सामाजिक सचिव समेत रहेका ग्रिनविच नेपाली समुदायका उपाध्यक्ष तथा कुशल कार्यक्रम सञ्चालक जित रानाभाट तथा दोस्रो सत्रको सञ्चालन चेतमान केसीले गरेका थिए ।
संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले पृथ्वीनारायण शाहको योगदानलाई सबैले कदर र सम्मान गर्नुपर्ने बताउँदै शाहको योगदानले मात्रै देश आज एकीकृत भएको बताए । कुनै पनि देशले नेपलमाथि धावा बोलेको सहन नसकिने भन्दै यसका विरुद्ध सबै नेपाली एक भएर लाग्नुपर्ने बताए । उनले देशमा अहिले आतंककारीहरुको शासन चलिरहेको भन्दै यिनीहरुलाई परास्त गरेर युवाले देश हाक्ने युग आएको समेत जनाए । ‘हामी युवा कार्यकर्ताले यो देश बचाउनुपर्छ, पृथ्वीनारायणले अर्जेको देश जस्ताको तस्तै हाम्रा सन्ततिलाई दिनुपर्छ, शताब्ति सम्म यो पहिचान बचाउनुपर्छ।’ उनले भने । उनले अर्काे बर्ष शाह जन्मेको तीन सय बर्ष पुग्ने दिनको कार्यक्रम विशेष रुपले मनाउने भन्दै विशेष वक्तालाई एक लाखे पुरस्कार दिने गरी फरक किसीमको कार्यक्रम गर्ने जानकारी दिए ।
भरत क्षेत्रीको एक्लो प्रयासमा संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले राजतन्त्र हटाइएपछिको प्रतिकुल परिस्थितिमा पनि विगत १२ वर्षदेखि पृथ्वी जयन्ती निरन्तर मनाउंदै आएको छ ।
विगतका बर्षहरुमा भौतिक रुपमै उपस्थित भई भव्य समारोहका साथ कार्यक्रम गर्ने गरिएको भएपनि यसबर्ष विश्वव्यापी फैलिएको कोरोनाभाइरस महामारीको कारण अनलाइनबाटै मनाइएको होे । उक्त कार्यक्रमको लण्डन नेपाल न्यूजको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।






