चितवन- चितवनको दक्षिण माडी(बाँदरमुढे)मा तत्कालीन नेकपा माओवादीले यात्रुबाहक बसमा गरेको बम विस्फोटमा परी घाइते भएकाहरुले अझैसम्म उचित न्याय पाउन सकेका छैनन् ।
बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिले पटक पटक न्यायका लागि पहल गरेपनि प्रतिबद्धता अनुसारको काम नभएको गुनासो पीडितहरुले गर्दे आइरहेका छन् ।
घटना भएको जेठ २३ गते १४ बर्ष पूरा भएपनि न्याय दिन आलटाल भइरहेको भन्दै पीडितले उचित न्याय दिनेतर्फ सबै गम्भीर हुनुपर्ने बताएका छन् ।
पूर्व माओवादीका अध्यक्ष एवं हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गत निर्वाचनको समयमा बाँदरमुढे घटना ‘जनयुद्ध’मा भएको सबैभन्दा ठूलो गल्ती भएको स्वीकारेको भए पनि प्रतिबद्धता कार्यान्वयन गर्न सकेका छैनन् ।
उनले आफ्नो सरकार बने लगत्तै बाँदरमुढे घटनाका पीडित परिवारलाई सम्मान हुनेगरी सम्बोधन गर्ने घोषणा गरे ।
साथै आफ्ना पार्टी निकट मृतकका परिवार, घाइते तथा कार्यकर्ताको भेला डाकी २०७४ मंसिर १७ गते ३ बुँदे सहमति पनि गरेका थिए ।
विसं २०६२ जेठ २३ गते बाँदरमुढे घटनामा परी ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।
अयोध्यापुरीबाट यात्रु लिएर नारायणगढ आउँदै गरेको ना२ख ३२४५ नंको बसमा माओवादीले बम विस्फोट गराएका थिए ।






