प्रदेश २ को चुनावमा धाँधली भएको एमालेको निष्कर्ष

काठमाडौं- तीन दिनसम्म राजधानीमा चलेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले स्थानीय तह निर्वाचनको तेस्रो चरणमा अप्रत्यासित नतिजा आउनुमा सत्ताको चरम दुरुपयोग र धनपैसाको प्रयोग भएको निष्कर्ष निकालेको छ।

६ गतेदेखि सुरु भएको बैठकले १४ बुँदे प्रस्ताव सार्वजनिक गर्दै सत्ताको आडमा लोकतन्त्रको उपहास हुने गरी मधेसमा निर्वाचन भएको जनाएको छ।

२ नम्बर प्रदेशमा स्वेच्छाचारी किसिमले स्थानीय तहको संख्या हेरफेर गर्ने, आतंकको वातावरण सिर्जना गर्ने, बुथ कब्जा गर्ने, कर्मचारी सरुवा– बढुवा र राजनीतिक नियुक्ति गर्ने गठबन्धन सरकारको कार्यले निर्वाचनमा असर पारेको एमालेको प्रस्तावमा उल्लेख छ।

गठबन्धन सरकारले भ्रष्टाचार र तस्करीलाई संस्थागत रुपमा संरक्षण गरेको आरोप लगाउँदै एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनको प्रसंगमा दिएको अभिव्यक्ति नेपालको व्यवस्थापिका–संसद र नेपाली जनताको सार्वभौमिकतालाई होच्याउने खालको भएको उल्लेख गरेको छ।

म्यानमारबाट बंगलादेश प्रवेश गरेका रोहिंग्या शरणार्थीहरुलाई नेपाल प्रवेश गराउने कार्य भइरहेको भन्दै त्यसलाई रोक्न पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ।