सरकार मनपरी ढङ्गले अघि बढ्योः सभापति देउवा

Sher_Bdr_Deubaबनेपा, १८ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले विपक्षी दलसँग कुनै सल्लाह नगरेको गुनासो गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९३औँ जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस काभ्रेपलाञ्चोकको भवन शिलान्यासपछि आज बनेपामा आयोजित कार्यक्रममा उहाँले सरकार मनपरी ढङ्गले अघि बढेको आरोप लगाउनुभयो ।

सभापति देउवाले संविधानको कार्यान्वयन र भूकम्पपीडितलाई बसोबासको व्यवस्था गर्ने चुनौती काँग्रेसको काँधमा आएको उल्लेख गर्दै हिउँद र वर्षासमेत सकिन लाग्दा भूकम्पपीडितको पक्षमा सरकारले कुनै काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो – “भूकम्पपीडित जुनसुकै पार्टीका हुन् तर कसैको नाम छुट्नुहुँदैन र भूकम्पपीडितमाथि जुन जिल्लामा अन्याय हुन्छ त्यस्ता जिल्लामा जुलुस र विरोध पनि गर्न जरुरी छ ।

नेता देउवाले नेकपा (एमाले)ले नै स्थानीय चुनाव गर्न नचाहेको आरोप लगाउँदै राज्य पुनःसंरचना आयोगको रिपोर्ट आगामी साउन, भदौमा नै आउनुपर्ने बताउनुभयो ।