साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्र शर्मा बर्खास्त

काठमाडौं- भ्रष्टाचार र अनियमितता आरोप लागेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा बर्खास्त भएका छन्।

मन्त्रीस्तरिय बैठकमार्फत शिक्षा मन्त्रालयले शर्मालाई आइतबार बर्खास्त गरेको हो।

वार्षिक आम्दानीमा गडबडी गरेको, पुस्तक बिक्री वितरणको हिसाबकिताब चुस्त नराखेको, साझाकै लोगोमा व्यक्तिगत तवरबाट पुस्तक प्रकाशन गरेको, पुराना कर्मचारी हटाएर आफू अनुकूल नयाँ कर्मचारी भर्ना गरेको लगायत आरोप उनीमाथि छ।

संस्थाको बेथिति उजागर भएपछि शिक्षा मन्त्रालयले उप–सचिव गणेश ढकालको नेतृत्वमा साउन १२ गते छानबिन समित गठन गरेको थियो। समितिले तयार पारेको प्रतिवेदन मन्त्रालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ।

आफू लगायत सञ्चालक समितिका अन्य सदस्यले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई राजीनामा बुझाएको र स्विकृत नभएको झुटो प्रचार गर्दै आएका उनीमाथि मन्त्रालयले पटकपटक स्पष्टीकरण सोधेको थियो। उनले चित्तबुझ्दो जवाफ दिन सकेका थिएनन्।