बिराटनगर , ७ चैत। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मालपोतलगायतका सरकारी कार्यालय १२ घण्टा सञ्चालन नगर्न केही लेखन्दास र कर्मचारी संगठनले दबाव दिएको बताएका छन् ।
बिराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै मन्त्री पण्डितले १२ घण्टे सेवालाई अन्य सरकारी कार्यालयमा समेत विस्तार गर्न लागेको बताए ।
सरकारले केही सरकारी कार्यालयमा मात्र सीमित गर्दै आएको १२ घण्टे सेवालाई चाँडै अन्य सरकारी कार्यालयमा विस्तार गर्ने उनले बताए । उनले दुई सिफ्टको सेवामा कार्यरत कर्मचारीलाई थप सुविधा दिएर भए पनि सेवालाई निरन्तरता दिने बताए ।
बिहानैदेखि कार्यालय खुल्न थालेपछि सेवाग्राहीको उत्साहजनक सहभागिता बढेको भन्दै मन्त्री पण्डितले आउँदो बैशाखबाट थप सरकारी कार्यालयमा १२ घण्टे सेवा विस्तार हुने जानकारी दिए । मन्त्री पण्डितले बिहान र बेलुकाको सेवामा जनताको सहभागितावारे आफैंले स्थानीय प्रसासनसँग जानकारी लिने गरेको बताए ।
मन्त्री पण्डितले लेखापढी व्यवसायी र केही कर्मचारी संगठनहरु दुई सिफ्टको सेवा हटाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै सेवा अवरुद्ध गर्न खोज्नेहरुलाई परास्त गरेर अगाडि बढ्ने बताए ।






