जनताको मतले निर्वाचित नेताहरुले जनमतलाई ख्याल नगरेको आरोप कमलनयनाचार्य (मुक्तिनाथ बाबा)ले लगाएका छन्।
सुनसरीको इटहरीमा पत्रकारहरुसँग कुरा गर्दै उनले संविधानमा गल्तीवश धर्म निरपेक्ष भन्ने शब्द पारिएको बताउँदै ८५ प्रतिशत हिन्दू भएको ठाउँमा धर्म निरपेक्ष नसुहाउने बताए।
उनले नेताहरुले जनताको मन दुःखाएको ठोकुवा गरे। ‘सबैभन्दा ठूलो दान मत र विचारको दान हो,’ उनले भने, ‘हामीसँग भोट दिएर हामीलाई नै चोट दिए।’ जनतालाई जनार्दनको रुपमा लिने हो भने जनसहभागितामा आधारित कार्यहरु गर्न समेत सुझाए।
उनले आफूहरु निरिह भएको नभइ नेताहरु सच्चिएलान् भनेर पर्खेर बसेको समेत बताए। आफूहरुले चाहेमा तीन घण्टामा देश ठप्प पार्न सक्ने चेतावनी दिँदै उनले नेताहरु सुध्रन्छन् कि भनेर पर्खेको बताए।
‘हामी मुक्तिनाथ परिवारका सदस्यहरुले चाह्यौं भने तीन घण्टामै देश ठप्प पार्न सक्छौं,’ उनले भने, ‘तर बनाउन केही नबनाउने, सियोसम्म ल्याउनुपर्यो भने भारतको भर पर्नुपर्ने अवस्थामा बन्द गरेर बहादुर भइदैन।’ उनले मानिसहरुमा आफू हिन्दू भएकोमा चेतना र गर्व जागिरहेको समेत जिकिर गरे।
हिन्दूहरु त्यागको प्रतीक हुने हुँदा आफूले धर्मै नमान्ने नेतालाई पनि नजिक राख्न चाहेको बताउँदै हरेक मानिसलाई सुध्रने मौका दिनुपर्ने बताए। ‘महात्माहरुको आँखाको हेराई र हातको स्पर्शले मात्र पनि बद्लाव आउँछ।
उनले नेपालमा सन्त महात्माहरुको अनिकाल परेको बताउँदै। आफूसहित थोरैको संख्यामा मात्र सन्त महात्मा रहेको बताए। ‘एउटा त मुक्तिनाथ बाबा तपाइहरुको अगाडी जो बोलिरहेका छन्,’ उनले भने, ‘अरु केही मेरा मित्रहरु हुनुहुन्छ, तर सन्तहरुको संख्या अत्यन्त न्युन छ।’
उनले पर्वत, बागलुङ, मुस्ताङ र म्याग्दीमा स्थानिय गाईको संरक्षणका लागि गौशाला निर्माण अभियानलाई तीव्रता दिएको बताउँदै फागुनमा ठूलो यज्ञ गर्न लागेको र त्यो समयमा विपरित ध्रुवहरु एक हुनेगरी चमत्कार हुने समेत ठोकुवा गरे। उनले१०८ फिट अग्लो तामाको विश्वशान्ती कलश निमार्णाधिन रहेको समेत जानकारी दिए।






