अमेरिका, असोज १४ – उपप्रधानमन्त्री प्रकाशमान सिंह र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाबीच भेटवार्ता भएको छ । भेटमा दक्षिण एसियाली सहयोग सङ्गठन सार्क, कुनै किसिमको समस्या नरहेको दुई देशबीचको सम्बन्ध तथा सहयोगका विविध पक्षका बारेमा छलफल भएको थियो ।
श्रीलङ्काली राष्ट्रपतिले विश्व सम्पदा सूचीमा रहेको स्वयम्भूमा हिन्दू मन्दिर निर्माणमा सहयोग गर्ने तथा उपयुक्त समयमा नेपाल भ्रमण गर्ने इच्छा राख्नुभएको परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बताउनुभयो ।
शान्तिका प्रतीक बुद्ध नेपालमा जन्मनुभएको र श्रीलङ्कामा बौद्ध धर्मावलम्बीहरु रहेको हुँदा दुवै देशको संस्कार र संस्कृतिमा पनि समानता रहेको बारेमा पनि छलफल भएको थियो । नेपालमा संविधानसभाबाट संविधान जारी भएकामा श्रीलङ्काली राष्ट्रपतिले नेपाल र नेपालीलाई बधाई एवम् शुभकामना दिनुभएको परराष्ट्र मन्त्री पाण्डेले बताउनुभयो ।
भेटमा उपप्रधानमन्त्री सिंहले नेपालमा भर्खरै संविधानसभाबाट समावेशी लोकतान्त्रिक संविधान जारी भएको तथा अब नेपाल यसको सफल कार्यान्वयन गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिनुभयो ।
भेटवार्तामा प्रधानमन्त्रीका विदेशी मामिला सल्लाहकार डा. भट्टराई, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास बैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि दुर्गा भट्टराई, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीलगायत नेपालका उच्च सरकारी पदाधिकारीको सहभागिता थियो । रासस






