प्रचण्ड भन्छन्- ‘म सधैँ डा. गोविन्द केसीको साथमा छु’

काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सधैं डा. गोविन्द केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताउनुभएको छ ।

२१ दिनदेखि अनसनमा रहनुभएका केसीको जीवन रक्षाको माग गर्दै भेट्न आएको प्रतिनिधिसँग कुराकानी गर्दै उहाँले आफू केसीले उठाएका मागको पक्षमा रहेको बताउनु भएको हो ।

‘काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा. केसीको माग सकारात्मक छ’, उहाँले भन्नुभयो, ‘यसले मेडिकल शिक्षालाई मर्यादित बनाउँछ भन्ने मेरो पनि ठम्याई छ । म प्रधानमन्त्री हुँदा पनि उहाँले उठाएका समस्या सम्बोधन गर्न सकारात्मक कुराकानी भएको हो । तर, कतिपय कानूनी र प्रशासनिक जटिलताका कारण सबै काम सम्पन्न हुन सकेन ।’

अध्यक्ष प्रचण्डले अब ऐनमा त्यसबारे ठोस व्यवस्था गरेर डा. केसीलाई आश्वस्त पारेर अनसन तोडाउनुपर्ने बताउनुभयो। यसबारेमा आज ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरेर अनसन तोडाउन पहल गर्ने उहाँको भनाइ थियो । डा. केसीको अभियानप्रति पुरै सकारात्मक रहेको बताउँदै प्रचण्डले यसबारे सकारात्मक पहल उल्लेख गर्नुभयो ।

भेटमा प्रतिनिधि मण्डलले डा. केसीको स्वास्थ्य अत्यन्त कमजोर हुँदै गएकाले उहाँका माग सम्बोधन गरी अनसन तोडाउने पहल गर्न प्रचण्डसँग आग्रह गरेको थियो ।