कर्मचारीले घुस मागे ? १०७ मा फोन गर्नुस्

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोल फ्री नं १०७ लाई थप प्रभावकारी बनाउने भएको छ ।

आयोगले सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कसैले काममा ढिलासुस्ती गरी रकमको माग गरेमा तत्काल १०७ नंमा फोन गर्न आग्रह गरिएका सूचनापाटी र स्टिकर टाँस्ने भएको छ । पहिलो चरणमा काठमाडौँ उपत्यकाका मालपोत, यातायात, नापी र वैदेशिक रोजगार विभागको कार्यालयमा सूचना टाँस्ने आयोगका सचिव राजन खनालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

आयोगले क्रमशः काठमाडौँ उपत्यका बाहिरका जिल्लामा पनि यस्तो अभियान चलाउने छ । धेरै सेवाग्राहीले आयोगको टोल फ्री नंबारे जानकारी नपाएर आयोगका अन्य नंमा फोन गर्ने गरेको अनुभवका आधारमा सो नंको प्रचारप्रसार गर्न लागिएको बताइएको छ । उहाँले भन्नुभयो, “अन्य नम्बरमा फोन गर्दा पैसा लाग्छ, झन्झटिलो हुन्छ, त्यसैले कुनै गुनासो भए १०७ नम्बरमा निःशुल्क गर्न सकिन्छ ।”