अनेसासको अध्यक्षमा डा. प्रकाश पौडेल निर्वाचित

सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स राज्य समिति अष्ट्रेलियाको अध्यक्षमा डा. प्रकाश पौडेल निर्विरोध निर्वाचित भएका छन् ।३ फेब्रुअरी शनिबार सिड्नीमा सम्पन्न समाजको साधारण सभाले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा चतुर्भुज खरेल, महासचिवमा भावना पराजुली, सचिवमा अस्मित रेग्मी, कोषाध्यक्षमा स्वेता मैनाली, पब्लिक रिलेसन अफिसरमा मुक्तिराम पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा डा.मधु पुडासैनी, डा. राजु मानन्धर, ई. बिनोद महर्जन, महिमा दिप फुल्लेल र सिता कंडेललाई चयन गरिएको छ । साधारण सभाले संस्थाको सल्लाहकारमा लेखक एवं साहित्यकारहरू ओम ढुंगेल, सौरभ किरण, राम कोइराला, सुरेन्द्र दवाडी, संदेश राजभण्डारी र डा. जीभनाथ लम्साल चयन गरेको छ ।

निवर्तमान अध्यक्ष ममता तिवारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, त्रि. वि. वि. नेपाली विभागकी पूर्व प्राध्यापक गार्गी शर्मा, अनेसास ओसिनियाका केन्द्रिय उपाध्यक्ष महेश्वर शर्मा, अष्ट्रेलियाका सम्मानित सामाजिक अभियन्ताहरु इन्द्रा वन र डा. नारायण प्रधान तथा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । पानसमा दीप प्रज्वलन एवम् नेपाली राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा नेपाली कला संस्कृति झल्कने आकर्षक नृत्य शब्दमाला विद्यालय मक्वारी फिल्ड्सका विधार्थीहरु श्रेया पौडेल र विदुषी बस्यालले प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा प्रतिज्ञा अधिकारी र सानो बाबु आयाम घिमिरेले कविता वाचन गरेका थिए ।

कार्यक्रमको अवसरमा कवयित्री ममता तिवारीको कविता संग्रह “समयको छाल“ कोलोकार्पण नेपाली समुदायका अगुवाहरू एनआरएन अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, प्रा. गार्गी शर्मा, अनेसास ओसिनियाका केन्द्रिय उपाध्यक्ष महेश्वरशर्मा, नेपाली समाजका अगुवाहरु डा. नारायण प्रधान, इन्द्रा बन, डा.शम्सेरसिंह थापा, साहित्यकार सानु घिमिरे, एनआरएनए अभियन्ता दिपा जोशीले संयुक्त रूपमा गरेका थिए । “समयको छाल“ कविता संग्रहको पुस्तकबारे प्रज्ञा पनेरुले समीक्षा गरेकी थिईन भने लगतै कवयित्री ममता तिवारी र साहित्यकार सानु घिमिरेले उक्त कृतिको बारेमा किताब वार्तालाप गरेका थिए । यस अघि पनि “जीवनका तरंग” नामक कविता संग्रह बजारमा ल्याईसकेकी कवयित्री तिवारीको लेखन क्षमताको उपस्थित साहित्य अनुरागीहरूले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

कार्यक्रममा प्रा. गार्गी शर्मा, अन्जाका उपाध्यक्ष प्रकाश हुमागाईं, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल र वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम प्रायोजन सहयोगी एक्स्पर्ट एजुकेसन, लक्ष्मी होम लोन्स, प्रोप्टी कनेक्ट, राईट एण्ड एसोसियट्स, मण्डला लिगल, मल्टी डाईनामिक्स, बि एन बि होम लोन, ओली एण्ड एसोसियट्सलाई प्रमाणपत्र वितरण एवं कविता वाचन गर्ने बाबु आयाम घिमिरे र नेपाली नृत्य प्रदर्शन गर्ने नानुहरु श्रेया पौडेल र विदुषी बश्याललाई समेत प्रमाणपत्र वितरण भएको थियो । उक्त कार्यक्रमको संचालन डा.प्रकाश पौडेलले गरेका थिए ।