तक्दीर अधिकारी
सिड्नी । राजधानी क्यानबेराको जीआईओ रंगशालामा भएको विश्वकप फुटबल छनौट खेलमा नेपाललाई अस्ट्रेलियाले ५–० गोल अन्तरले पराजित ग-यो । खेल हेर्न अस्ट्रेलियाभरबाट सयौं नेपाली समर्थक ओइरेका थिए । रक्षात्मक रणनीति अपनाएका नेपाली खेलाडीको प्रदर्शन अपेक्षाकृत सन्तोषकजक रहेको थियो ।
धेरैजसो इग्लिस प्रिमियर लिगमा आबद्ध अस्ट्रेलियन खेलाडीलाई रोक्न नेपाली खेलाडीले धेरै मेहनत गरेको देखियो । पहिलो ६ मिनेटमै गोल खाएको नेपाल १९ औं मिनेटमा २ गोलले पछि परेको थियो । यी दुवै गोल अग्रपङ्क्तिका खेलाडी जेमी मक्लारेनले गरेका थिए ।
२३ औं मिनेटमा ह्यारी सुटर गोल गरेर अस्ट्रेलियालाई ३–० ले अग्रता दिलाएका थिए भने उनले खेलको उत्तरार्धमा पुनः गोल गर्न सफल भए । ५९ औँ मिनेटमा अस्ट्रेलियाका लागि आफ्नो पहिलो खेल खेलिरहेका सुटरले गोल गरेपछि भने नेपालको रक्षापंक्तिले लगभग अन्त्यसम्मै गोल रोक्न सफल रहेको थियो ।
नेपाली प्रशिक्षक योहान कालिनले ६६ औँ मिनेटमा विमल मगरलाई प्रवेश गराएका थिए । नेपाली खेलाडी राजीन धिमालले पहेलो कार्ड पाए । ९० औं मिनेटमा मक्लारेनले अर्को गोल गरेर अस्ट्रेलियालाई ५–० को अग्रता दिलाए ।
रंगशालामा १८ हजार ५ सय ६३ दर्शक उपस्थित थिए । त्यसमध्ये ठूलो संख्या नेपाल समर्थकको उपस्थिति थियो । विशेष गरी सिड्नीबाट नेपाली टोलीको हौसला बढाउन राजधानी क्यानबेराको जिआईए रंगशाला पुगेका थिए ।






